आदिवासी रंगशाला निर्माणका लागि छुट्टिएको बजेट कार्यान्वयन हुन्छ : मुख्यमन्त्री कार्की
Published:
by .कमल । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको कमल गाउँपालिका वडा नं. ५ स्थित आदिवासी रङ्गशाला निर्माणका लागि छिटो प्रक्रिया अगाडि बढाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने बताएका छन् ।
रङ्गशाला निर्माणका लागि प्रदेश सरकारबाट विनियोजन भएको एक करोड रुपैयाँले पहिलो चरणमा रङ्गशालाको डिपिआर बनाएर प्रवेशद्वार र घेराबारा गर्न निर्देशन दिने मुख्यमन्त्री कार्कीको भनाई छ ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईसहितको प्रतिनिधि मण्डलसँगको भेटमा मुख्यमन्त्री कार्कीले चालू वर्षका लागि विनियोजित बजेट कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय मार्फत शहरी विकास बोर्डमा पत्राचार गर्न निर्देशन गरेका हुन् ।
उक्त भेटमा वडानम्वर ५ स्थित साधु होली जानका लागि चाँजु खोलामा झोलुङ्गे पूल निर्माणको प्रक्रिया चाँडो अघि बढाउने तथा गाउँ पालिकाको भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, खानेपानी, खेलकुदका क्षेत्रमा आवश्यक सहयोग गर्ने मुख्यमन्त्री कार्कीले वचन दिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिएका छन् ।
Comments