नयाँवर्ष २०८० प्रवेशमा कसको कस्तो शुभकामना सन्देश
Published: (Updated: )
by .आज विक्रम संवत् २०८० साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन, नेपालभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराईको तर्क छ ।
“विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो । सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ” उनले भनेका छन् ।
सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवतको पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वनहरुको भनाई छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलियुग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।
हरेक व्यक्तिले आज गतवर्ष गरेका कामको सफलता रअसफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथी सङ्गती तथा इष्टमित्रसँग भेटघाट गरी एकआपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।
सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौं : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले सबल र समुन्नत नेपाल निर्माणमा कटिबद्ध रहन सबै नेपालीलाई आह्वान गरेका छन् । व्याप्त निराशालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरी श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने उनको जोड छ ।
नयाँ वर्ष २०८० को शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले भनेका छन्, ‘चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको ख्याल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचैन राख्न राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव तथा नेपाली–नेपालीबीच अपनत्व र भ्रातृत्व बढाउन तथा मुलुकको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न थप मद्दत पुर्याउन सक्नेछ ।’
आर्थिकरूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता सबैको भए पनि केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनुपर्ने उनको भनाइ छ ।
उनले नयाँ वर्ष २०८० सालको आरम्भमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना पनि गरेका छन् ।
नयाँ वर्षलाई राष्ट्रिय उपलब्धिको ऐतिहासिक वर्ष बनाउने : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा विश्वास, आशा र साहसका साथ राष्ट्रका क्षमता उजागर गर्ने बताएका छन् ।
नयाँ वर्ष २०८० को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले केवल क्यालेन्डर परिवर्तन नगरी नेपाल राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउने संकल्प गरेका छन् ।
उनले भनेका छन्, ‘संकल्प गरौं, सिंगो राष्ट्रको साझा संघर्ष र संकल्पबाट यो वर्ष केवल क्यालेन्डर परिवर्तन गर्ने छैनौं, राष्ट्रको आर्थिक र सामाजिक जीवनमा पनि रचनात्मक परिवर्तन ल्याउनेछौं ।’
परम्परागत प्रकृतिको विकासको मोडेल र योजना तर्जुमा प्रक्रियामा क्रमभङ्ग गर्न गइरहेको बताउँदै उनले त्यसका लागि सकारात्मक वातावरण बनिरहेको उल्लेख गरेका छन् ।
बैंकको ब्याजदर कम हुँदै गएको, वैदेशिक रोजगार व्यवस्थित हुँदै गएको, श्रमिकको अधिकार सुरक्षित गर्न महत्त्वपूर्ण सामाजिक सुरक्षा अभियानमा उनीहरू जोडिएको र नागरिकले प्राप्त गर्ने सेवाहरू झन्झटमुक्त बनाउने अभियान सुरु भएको भन्दै प्रधानमन्त्री प्रचण्डले नयाँ पिँढीको गुणस्तरीय भविष्यका लागि अझ धेरै मिहिनेत गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।
नयाँ वर्षका हरेक दिन संविधानको कार्यान्वयन, गणतन्त्रको सुदृढीकरण, स्थिरता र समृद्धिका लागि समर्पित हुने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । ‘हरेक नयाँ वर्ष एउटा सुरुआत हो, विगतको समीक्षासहित नयाँ संकल्प गर्ने दिन हो, हामीले आत्मसमीक्षा गर्नैपर्छ तर हामीलाई निराश हुने छुट छैन’, प्रधानमन्त्री प्रचण्डको शुभकामनामा सन्देशमा उल्लेख छ ।
२०८० लाई राष्ट्रिय उपलब्धिहरूको ऐतिहासिक वर्ष बनाउने प्रणसहित समस्त नेपाली जनसमुदायको शान्ति, प्रगति र सुस्वास्थ्यको कामना गरेका छन् । उनले नयाँ वर्षलाई सहमति र सहकार्यमार्फत समृद्ध नेपालको आधार निर्माण गर्ने वर्षका रूपमा मनाउन आम जनसमुदायमा विशेष अपिल समेत गरेका छन् ।
राजनीतिक स्थिरता बिना विकास र समृद्धिका कार्यक्रमहरू अघि बढ्न सक्दैनन् : एमाले अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बलियो राष्ट्रिय शक्ति निर्माणले नै राष्ट्र हितको रक्षा र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा प्रतिकूलका दुश्प्रयासहरुलाई परास्त गर्दै विकास र समृद्धि तर्फको यात्रामा मुलुकलाई अघि बढाउन सम्भव हुने बताएका छन् ।
नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना सन्देश दिँदै अध्यक्ष ओलीले विकास र समृद्धिका लागि जनतालाई आफू र आफ्ना सन्ततिको सुनिश्चित भविष्यप्रति आश्वस्त बनाउनुपर्ने बताएका छन् ।
जनतामा पैदा भएको निराशा चिर्दै बलियो राष्ट्रिय शक्तिमार्फत मुलुकलाई अघि बढाउन नेकपा एमाले सक्रिय रहेको उल्लेख गर्दै एमाले अध्यक्ष ओलीले बितेको वर्षका अन्तिम दुई महिना नेकपा एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न ‘मिसन ग्रासरुट’ अभियान थालएिको उल्लेख गरेका छन् । अध्यक्ष ओलीले सिद्धान्तहीन सिन्डिकेटको राजनीतिबाट मुक्त गर्दै जनताको निराशा चिर्न, सुशासन, विकास र राष्ट्रिय हितको रक्षा गर्न नेकपा एमालेलाई बलियो बनाउन मिसन ग्रासरुट अभियानले मद्दत पुग्ने विश्वास समेत व्यक्त गरेका छन् ।
एमाले विरुद्ध महागठबन्धन निर्माण गरी भएको चुनावमा पनि जनताको विश्वासका कारण नेकपा एमाले पहिलो लोकप्रिय राजनीतिक दलको रूपमा रहन सकेको उल्लेख गर्दै अध्यक्ष ओलीले अस्थिरताको लाभ लिएर राजनीतिलाई विकृत तुल्याउने र राजनीतिलाई झन् अन्योलपूर्ण बनाउँदै मुलुकको विकास र समृद्धिको यात्रा बिथोल्ने प्रवृत्तिलाई निस्तेज पार्न एमालेलाई बलियो राजनीतिक शक्ति बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
उनले मुलुक निर्माणको सुस्पष्ट दृष्टिकोण, दिशा र कार्यक्रम रहेको पार्टी एमालेलाई बलियो नबनाई राजनीतिक स्थिरता सम्भव नरहेको उल्लेख गर्नुहुँदै राजनीतिक स्थिरता बिना विकास र समृद्धिका कार्यक्रमहरू अघि बढ्न नसक्ने पनि प्रष्ट पारेका छन् ।
नयाँ वर्षका अवसरमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्ने नेकपा एमालेको गन्तव्यमा साथ र सहयोग प्रदान गर्न आम देशवासी दिदीबहिनी तथा दाजुभाइहरूमा अध्यक्ष ओलीले हार्दिक आह्वान गरेका छन् ।
राजनीतिक नेतृत्वले विशेष योजना निर्माण गरी कार्यारम्भ गर्न जरुरीः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले राजनीतिक नेतृत्वले समस्त नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउन विशेष योजना, मार्गचित्र निर्माण गरी कार्यारम्भ गर्न जरुरी रहेको औंल्याएका छन् ।
नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीहरूमा सुख, शान्ति, समृद्धि र आरोग्यताको शुभकामना व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई मजबुत बनाउँदै जनताको विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने अभियानलाई तीव्रता दिनैपर्ने बेला भएको उनको भनाई छ । नयाँ वर्ष प्रवेश गरिरहँदा आर्थिक क्षेत्रमा सकारात्मक सङ्केतहरू देखिन थालेको सभामुखले उल्लेख गरेका छन् ।
“राज्यका तीन अङ्गमध्ये कानुन निर्माण गर्ने मुख्य थलो संसद् हो, प्रतिनिधिसभाले विधेयकहरू माथिको छलफल सुरु गरेको छ, संसद्लाई अझै प्रभावकारी र गतिशील बनाउन सबै राजनीतिक दलसँग छलफल भइरहेको छ” शुभकामना सन्देशमा भनिएको छ ।
जनसहभागिता, राजनीतिक सहमति, सहकार्यका आधारमा संसद्ले बनाउने कानुनले आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र सुशासन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको लिँदै जनताको सार्वभौमसत्ता प्रयोग हुने संसद्लाई प्रभावकारी बनाउँदै जनमुखी र प्रगतिशील कानुन निर्माण गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ ।
नयाँ वर्षमा प्रवेश गरिरहँदा हामीले विगतको वर्षको समीक्षा गर्न पनि आवश्यक छ । विसं २०७९ मा तीनवटा निर्वाचन सम्पन्न भई मुलुक नयाँ जनप्रतिनिधिको काँधमा आएको उल्लेख गर्दै उहाँले राजनीतिक रूपमा अघिल्लो वर्ष परिवर्तनको वर्ष भए पनि आर्थिक र पूर्वाधार विकासमा भने उल्लेख्य प्रगति हुन नसकेको सभामुखको बुझाई छ ।
“नयाँ वर्षले हामी सबै नेपालीबीच एकता, पारस्पारिक मेलमिलाप, भाइचारा र सौहाद्रपूर्ण भावनालाई अभिवृद्धि गर्ने विश्वाससहित हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ ।
युवा पिँढीमा शासकीय गतिविधिप्रति पूर्णतया असन्तुष्टि छः ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्र शाहले देशको अवस्थाप्रति युवा पिँढीमा चरम विद्रोहभाव देखिएको टिप्पणी गरेका छन् ।
बिहीबार नयाँ वर्षको अवसरमा एक सन्देश जारी गर्दै उनले विगत तीन दशकयताको घटनाक्रमप्रति युवा पिँढीमा चरम बिद्रोहभाव देखिएको बताएका हुन् ।
‘युवा पिँढी विद्यमान प्रणाली र शासकीय गतिविधिप्रति पूर्णतया असन्तुष्ट हुँदै गएको देखिन्छ । विगत तीन दशक बढी समयको अनर्थ प्रयत्न उपर उनीहरुको चरम बिद्रोहभाव देखिन थालेको छ’, शाहले सन्देशमा भनेका छन्, ‘यस्तो अवस्थामा कसैको मुख थुनेर, धरपकड गरेर वा पुनरुत्थानको अर्थहीन आरोप थोपरेर हुँदैन ।’
सरकारी ढुकुटी, सञ्चालित वित्तीय संस्थाहरुको वार्षिक कारोबार विपन्न वर्गको उत्थानमा परिचालन नभएको पूर्वराजा शाहले बताएका छन् । सीमित व्यक्ति र सानो घेराका परिवारमा मात्र त्यसको लाभ खुम्चिन पुगेको भन्दै उनले उत्पादन, आर्जन एवं परिचालनमा उपयुक्त ध्यान नदिँदा जनसाधारणमा समस्या बढेको बताएका छन् ।
हालैका दशकमा जानेर वा नजोर देशका विभिन्न पक्षबाट भएका कमजोरीबाट देशले दुख पाएको उनले बताएका छन् । पूर्वराजा शाहले भनेका छन्, ‘त्यसैले आन्तरिक सद्भाव र एकता, महत्वपूर्ण संस्थाहरुको सबलता, अन्तर्राष्ट्रिय सम्मान र सबैमा गम्भीर आँच पुगेको छ ।’
Comments