Sajhamanch Archive

सस्तो जग्गाको प्रलोभनमा ३२ लाख ठगेर फरार व्यक्तिहरु पक्राउ

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

बिर्तामोड । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कमा सस्तो मुल्यमा २ कठ्ठा जग्गा मिलाइदिने भन्दै ३२ लाख रुपैयाँ लिई फरार भएकाहरु पक्राउ परेका छन् ।

अर्जुनधारा–११ स्थित बसपार्कमा कमल गाउँपालिका–५ का ५२ वर्षीय विजय राईले मोरङ उर्लावारी ४ बस्ने ५२ वर्षीय विष्णुमाया सापकोटा सुवेदीको साथबाट उक्त रकम लिई फरार भएका थिए ।

घटना चैत ३० गतेको हो । घटनालगत्तै इलाका प्रहरी कार्यालय अनारमनीलाई सूचना दिइएको थियो । सो सूचनाका आधारमा प्रहरीले तत्कालै अनुसन्धान थालेको थियो । सस्तो दरमा जग्गा पाइने भएपछि सुवेदी पैसा लिएर आएकी थिइन् । उनीहरुबीच बैनाको कागज समेत नभई रकम लिई राई फरार भएका थिए ।

फरार व्यक्तिको खोजीको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीको समन्यवमा इलाम प्रहरीले इलामको पुरानो बजारमा रहेको देउराली होटलमा लुकिछिपी बसेका रामेछाप घर भई भक्तपुर बस्दै आएका ३९ वर्षीय राजेश श्रेष्ठ र पाँचथर मिक्लाजुङ ४ घर भई काठमाडौं बस्दै आएका ५२ वर्षीय जनक रेग्मीलाई नगद १४ लाख ६५ हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

सोही घटनामा संलग्न बेलबारी–६ घर भई मेचीनगर–६ बस्दै आएका ५५ वर्षीय रणबहादुर पोखरेल, कमल गाउँपालिका– ५ का ५२ वर्षीय विजय राईलाई इप्रका अनारमनीको टोलीले बिर्तामोड नयाँ बसपार्कस्थित थापा होटल एण्ड लजबाट नगद १३ लाखसहित पक्राउ गरेको छ ।

प्रहरीका अनुसार विजय राई र रणबहादुर पोखरेलले ठगी गर्ने योजना बनाएका हुन् । राईले एकै गाउँकी बिष्णुमाया सापकोटालाई भेटेर नयाँ बसपार्कमा २ कठ्ठा जग्गा रहेको र उक्त जग्गा सस्तोमा मिलाइदिन्छु भनी विश्वास दिलाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

राईले निजकै चिनजानका राजेश श्रेष्ठ र जनक रेग्मीलाई सम्पर्क गरी जग्गा खरिद गर्ने मानिस आउँदै छन् भन्दै चैत २८ गते झापा बोलाएका थिए । जग्गा खरिदका लागि बोलाइएका मान्छे आउने निश्चित भएपछि राई, रेग्मी, पोख्रेल र श्रेष्ठ अर्जुनधारा ११ मा भेला भई संयुक्त योजना बनाएको अनुसन्धाबाट खुलेको बिर्तामोडका डिएसपी सुरज कार्कीले जानकारी दिए ।

चैत ३० गते बिष्णुमाया सापकोटाले छिमेकी डम्बरबहादुर बिश्वकर्माको साथमा ३२ लाख बोकेर राईले बोलाएको नवज्योति होटलमा गएकी थिइन् । सोही बेला राईले कुनै कागजात समेत नगरी पैसा लिएर फरार बनेको झापाका प्रहरी प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए ।

इलामबाट खटिएको प्रहरी टोलीले नगद १४ लाख ६५ हजार र इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले १३ लाख बरामद गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *