Sajhamanch Archive

परराष्ट्रमन्त्रीमा कांग्रेसका एनपी साउद नियुक्त हुँदै, आज ३ बजे शपथ

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, लोकप्रिय by .

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका छन् । आज आइतबार दिउँसो ३ बजे उनले पद तथा गोपनीयताको शपथ लिने तय भएको छ ।

सत्तारुढ गठबन्धनमा १० वैशाखको उपचुनावपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी भएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावित भारत भ्रमणको तयारीका लागि तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुबीच शनिबार विहान, बालुवाटारमा भएको छलफललगत्तै साउदको नियुक्ति तय भएको एक नेताले जानकारी दिए । ‘परराष्ट्रमन्त्री नभएकै कारण भ्रमणको तयारीका कामहरु रोकियो भनेकाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्न लागिएको हो’ ती नेताले भनेका छन् ।

१७ चैतको मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा नै साउदलाई परराष्ट्रमन्त्री बनाउने तयारी थियो । तर कांग्रेसभित्र भागवण्डा नमिलेपछि रोकिएको थियो ।

सत्ता गठबन्धनमा भएको भागवण्डामा कांग्रेसले ८ मन्त्रालय पाएको थियो । सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका ६ नेता तय गरेर शेखर कोइराला–गगन थापा समूहसँग दुई मन्त्रीको नाम मागेका थिए । तर शेखर–गगन समूहले ३ मन्त्री पाउनुपर्ने, नभए नाम नै नदिने अडान लिएपछि देउवाले चार जनालाई मात्र सरकारमा पठाए ।

पछिल्लो समय थप एउटा मन्त्रालय लिएर भएपनि कांग्रेसको आन्तरिक भागवण्डा मिलाउन खोजिएको छ । हालै मात्र आफ्नो समूहको छलफलमा शेखर कोइराला र गगन थापा दुबैले आफूहरुले ३ मन्त्री र एक राज्यमन्त्री पाउने बताएका थिए । तर मन्त्रिपरिषद्ले पूर्णता भने १० वैशाखको उपचुनावपछि मात्र पाउने नेताहरु बताउँछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *