बैगुनधुराको ग्वालमुनीमा गाई चोरीका घटना बढ्दै
Published:
by .झापा । झापाको गौरादह ९ बैगुनधुरामा पशु चौपाया चोरीका घटनामा वृद्धि भएको छ । साबिक बैगुनधुरा ९ ग्वालमुुनीका रोहित खड्काको एउटा गाई आइतबार राति चोरी भएको अस्थायी प्रहरी चौकी बैगुनधुराले जनाएको छ ।
राति करिब १ बजेको समयमा गोठमा बाँधेको गाई चोरी भएको पिडितले बताएका छन् । सोही रात १२ बजेको समयमा दहगाउँका लोकमणि सापकोटाको गोठबाट बाच्छाबाच्छीसहित २ वटा दुहुना गाई ५०० मिटरको दुरीमा धानखेतमा पुर्याएका बेला गाउँलेले होहल्ला गरेपछि चोरहरु गाई छोडेर भागेका थिए ।
त्यस लगतै खड्काको गाई चोरी भएको स्थानीयले बताएका हुन् । केही महिना अघि बैगुनधुरा कै नगेन्द्र श्रेष्ठको गाई पनि चोरी भएको थियो ।
बैगुनधुराका स्थानीयले चौपाया चोरीको घटना झेलेको यो पहिलो पटक भने होइन, यहाँका अधिकांश घरका घरपालुवा चौपाया हल गोरु, राँगा, गाई कुनै न कुनै वर्ष चोरिएकै छन् स्थानीय ध्रुव घिमिरेले बताउँछन् ।
वि. सं २०४० सालभन्दा अघिदेखि नै बैगुनधुराको तल्लो टोलका पशुचौपाय चोरी हुँदै आएका छन् । भारतसँगको सिमाना नजिकै भएका कारण पशु चोरी हुने गरेको बुझाई छ । चोरले रातको समयमा चोरी गरी सीमाना कटाउने गरेका स्थानीयले बताए ।
केही वर्षअघिसम्म बैगुनधुरा बजारको नजिकै रहेको सशस्त्र प्रहरी बलको बेस क्याम्प हाल २ किलोमिटर दक्षिण सरेपछि यहाँका स्थानीयले असुरक्षा महसुस गरेका छन् । पशुचौपाय चोरीका घटना बढेपछि स्थानीय बासिन्दाले प्रहरीसँग सुरक्षा गस्ती बढाउन माग गरेका छन् ।
Comments