Sajhamanch Archive

कर्णाली साकोसले कारोबारी सदस्यलाई फिर्ता गर्यो एक करोड ५५ लाख रुपैयाँ

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, सहकारी by .

झापा । सहकारी संस्थामा वित्तीय कारोबार गरेको आधारमा शेयर सदस्यहरुले पाउने संरक्षित पूँजी फिर्ता अन्तरगत झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८/०७९ मा एक करोड ५५ लाख रुपैयाँ कारोबारी सदस्यहरुलाई प्रदान गरेको छ ।

शेयर सदस्यहरुले बचत तथा कर्जा कारोबारमा पुर्याएको वित्तीय योगदानका आधारमा संरक्षित पूँजी फिर्ता गर्नुपर्ने सहकारी ऐन २०७४ ले अगाडि सारेको नीति हो । ऐनको दफा ६९ मा संरक्षित पूँजी फिर्ता कोषको ब्यवस्था गरिएको छ ।

सो ऐनलाई कार्यान्वयन गर्न बनाइएको सहकारी नियमावली २०७५ को परिच्छेद ६ नियम २५ (ख) मा वित्तीय संस्थामा सदस्यले जम्मा गरेको बचत र लिएको ऋण रकममा तिरेको ब्याजका आधारमा संरक्षित पूँजी फिर्ता पाउने उल्लेख छ ।

उक्त नियमानुसार बचतमा पाकेको ब्याजको ४० प्रतिशत र ऋणमा तिरेको ब्याजको ६० प्रतिशत रकम सम्बन्धित सदस्यले संरक्षित पूँजी फिर्ता वापत पाउने व्यवस्था छ ।

कर्णाली साकोसले सोही ऐन र नियमावलीको आधारमा यो वर्ष एक करोड ५५ लाख रुपैयाँ संरक्षित पुँजीकोष रकम वितरण गरेको हो । अघिल्लो आर्थिक वर्षमा संस्थाले एक करोड ४० लाख रुपैयाँ सदस्यलाई फिर्ता गरेको थियो ।

सदस्यहरुले प्राप्त गरेको संरक्षित पूँजी फिर्ताका आधारमा ठूलो रकम फिर्ता पाउने ४२ जनालाई आमन्त्रण गरी आज आयोजित बधाई ज्ञापन गर्ने संक्षिप्त कार्यक्रममा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले ५४ हजार सेयर सदस्य रहेको कर्णाली साकोसका १९ हजार ८७८ जना सदस्यले यस्तो रकम प्राप्त गरेको जानकारी दिए । अघिल्लो पटक १७ हजार ८५३ जनालाई यस्तो सुविधा प्रदान गरिएको थियो ।

संस्थाका कोषाध्यक्षसमेत रहेका एकराज विष्टले संरक्षित पूँजी फिर्ता वापत एक लाख २४ हजार २८३ रुपैयाँ पाएका छन् । अघिल्लो आर्थिक वर्षको कारोबारमा पनि उनले नै सबैभन्दा धेरै ९३ हजार ३३९ रुपैयाँ प्राप्त गरेको तथ्याङ्क छ ।

संस्थाका अध्यक्ष श्रेष्ठले संरक्षित पुँजी कोषबाट १५ हजार रुपैयाँभन्दा धेरै रकम पाउने ४२ जना सदस्यहरुको नाम वाचन गर्दै उनीहरुलाई एकैठाउँमा भेला गरेर अघिल्लो वर्षबाट सम्मान गर्न थालिएको बताए ।

आफ्ना सेयर सदस्यले गरेको वित्तीय कारोबारका आधारमा प्रदान गरिएको संरक्षित पूँजी फिर्ताले असल सदस्य बन्न सबै उत्प्रेरित हुनेछन् भन्ने उनको विश्वास थियो । गतवर्षको तुलनामा यो वर्ष ऋणिभन्दा धेरै बचतकर्ताले यस्तो सुविधा उपभोग गर्न पाएको अध्यक्ष श्रेष्ठले जनाएका छन् ।
कर्णाली साकोसको जगेडा तथा अन्य कोषहरु ४० करोड हाराहारीको दर्बिलो भएका कारण सदस्यहरुले डराउनु नपर्ने प्रष्ट पार्दै अध्यक्ष श्रेष्ठले सदस्यबाट संकलन गरिएको निक्षेप फिर्ता गर्न र सानो सानो लगानी गर्न कुनै समस्या नभएको जानकारी दिनुभयो ।

संरक्षित पूँजी फिर्ता वापत ठूलो रकम पाउनेहरुमा कुमार शाक्य ४९ हजार ९२०, भवानीप्रसाद सुवेदी ४४ हजार ५०२, हिमालय कन्दङवा र साथीहरु ४३ हजार ८९५, खिनामाया न्यौपाने ४१ हजार १९४, देवीमाया काफ्ले खतिवडा ३६ हजार २४१, सतिषकुमार अग्रवाल ३५ हजार ८३५ र रेखादेवी अग्रवालले ३५ हजार ८ रुपैयाँ पाएका छन् । अग्रवाल दम्पत्तीले अघिल्लो वर्षको कारोबारमा क्रमशः ५७ हजार २८२ र ३७ हजार ७८१ रुपैयाँ पाएका थिए ।

कर्णाली साकोसका मानव संशाधन विभाग प्रमुख लक्ष्मीनारायण भट्टराईले सञ्चालन गरेको कार्यक्रममा संरक्षित पूँजी फिर्ता पाउने उत्कृष्ट ४२ जना सदस्यलाई खादा ओढाएर सम्मान गरिएको हो ।

संरक्षित पूँजी फिर्ता पाउने उत्कृष्ट सदस्यहरु चित्रकला पौडेल र दुर्गाप्रसाद नेपालले यसरी सहकारीबाट नसोचेको रकम पाउँदा खुशी लागेको बताउनु भयो । हिजोसम्म बैंक र सहकारीमा कारोबार गर्दा केही फरक थाहा थिएन तर आजदेखि नयाँ अनुभूति भएको उहाँहरुको धारणा थियो ।

संस्थाका सचिव भूपाल बस्नेतले कर्णाली साकोसले दोस्रोपटक यसरी वृहतरुपमा कार्यक्रम गरी संरक्षित पूँजी फिर्ता दिइएको अवगत गराउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने बताए । सहकारीका विषयमा बजारमा चल्ने चर्चाहरु कर्णालीका सम्बन्धमा भए आफूहरुलाई सोधेरमात्र यथार्थ समाचार प्रस्तुत गर्न सञ्चारकर्मीहरुलाई उनको सुझाव थियो ।

सबै सहकारी कर्णालीजस्ता सक्षम र इमान्दार नहुँदा अरुको आरोप आफ्नो संस्थाले पनि खेप्नुपर्ने भएकाले जुन संस्थासँग सम्बन्धित विषय हो सोही संस्थाको नाममात्र उल्लेख गरिदिए अभियान संकटमा नपर्ने उनको सुझाव छ ।

कार्यक्रममा आमन्त्रितहरुलाई शाब्दिक स्वागत गर्दै संस्थाका कोषाध्यक्ष एकराज विष्टले सहकारीले दिइरहेको यस्तो सुविधा बैंकबाट किमार्थ नपाइने बताए । आफूले पनि सहकारीको सदस्य बन्नु अघि बैंकमा बचत गर्ने गरेको तथा साहु महाजनबाट चर्को ब्याजमा ऋण लिने गरेको स्मरण सुनाउँदै कोषाध्यक्ष विष्टले कर्णालीमा कारोबार थालेपछि सुविधासँगै थाहै नपाई लाखौं रुपैयाँ आर्जन हुन थालेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *