Sajhamanch Archive

सुदखोरहरु विरुद्ध विप्लवको पार्टीद्वारा संघर्षका कार्यक्रमको घोषणा

Published: in अर्थतन्त्र, राजनीति, लोकप्रिय, समाज by .

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टी झापाको आयोजनामा झापाको बिर्तामोडमा बुधबार विरोध प्रदर्शन तथा जनसभा गरिएको छ।

बिर्तामोडको मुक्तिचोकस्थित हनुमान कम्प्लेक्सको प्रांगणमा भएको जनसभालाई उमा भुजेल (शिलु) र पार्टीका मेची ब्युरो इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य सुमन सिंहले सम्बोधन गरेका थिए ।

पश्चिम बस स्टेन्डबाट विरोध प्रदर्शन र्यालीले बजार परिक्रमा पछि हनुमान कम्प्लेक्सको प्रांगणमा जनसभा भएको थियो । पछिल्लो समय मिटरब्याजी, लघुवित्त, बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती बढ्दै गएको भन्दै सो पार्टीले यसका विरुद्ध प्रतिरोध र संघर्ष गर्दै आएको छ ।

जनसभालाई सम्बोधन गर्दै प्रमुख वक्ता उमा भुजेलले बैंक, वित्तीय संस्था र मिटर ब्याजीहरुका विरुद्ध पार्टीले संघर्ष गर्दै आएकाले पीडित जनताहरु गोलबद्व भएर ज्यादतीका विरुद्ध प्रतिकारमा उत्रनुपर्ने बताइन् ।

राज्य सत्ताका मतियार दलहरुले यो परिस्थितिको सिर्जना गरेको र गुन्डागर्दी संरक्षण गरेको भन्दै भुजेलले अब तिनीहरुका बिरुद्ध जस्तोसुकै कदम चाल्न आफ्नो पार्टी तयार रहेको उद्घोष गरिन् ।

उक्त जनसभामा नेकपाले झापाका विभिन्न होटलमा खुलेआम हुने यौनधन्दा, लागुऔषध, मिटर ब्याजी, वित्तीय संस्थाहरुको ज्यादती लगायतका विरुद्ध चरणबद्व संघर्षको घोषणासमेत गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *