इन्जिनियरको लाइसेन्स परीक्षा यसवर्ष तीन पटक हुने
Published:
by .काठमाडौं । नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरहरुको लाइसेन्स परीक्षा वर्षमा तीन पटक लिने तयारी गरेको छ । परीक्षार्थीहरुलाई लामो समय कुर्न नपरोस् भन्ने उद्देश्यले यसैवर्ष तीन पटक परीक्षा लिने तयारी गरिएको हो ।
परिषदका उपाध्यक्ष डा. विकास अधिकारीले यसवर्ष असार, मंसीर र चैत महिनामा इन्जिनियरहरुको लाइन्सेस परीक्षा लिने गरी तयारी गरिरहेको जानकारी दिएका हुन् ।
उनले भने ‘एउटा परीक्षामा फेल भएकालाई फेरि अर्को परीक्षामा सहभागी हुन लामो समय कुर्न नपरोस् भनेर २०८० सालमा तीनपटक परीक्षा लिने तयारी गरिरहेका छौं । हामी छिट्टै वार्षिक क्यालेन्डर नै सार्वजनिक गर्छौं ।’ आवश्यक परे लाइसेन्स परीक्षा वर्षमा चारपटक पनि लिन सकिने गरी तयारी भइरहेको उनको भनाई छ ।
डा. अधिकारीका अनुसार वार्षिक क्यालेन्डरमा कुन विधाको इन्जिनियरको लाइसेन्स परीक्षा फर्म कहिले खुल्ने र कहिले परीक्षा हुने भनेर स्पष्ट उल्लेख हुनेछ । उल्लिखित त्यही मितिमै परीक्षा सन्चालन गर्ने गरी क्यालेन्डर कार्यान्वयनमा ल्याउने उनको भनाई छ ।
इन्जिनियर उत्तीर्ण गरेकाहरुले इन्जियरिङ व्यवसायका लागि परिषदमा दर्ता हुनुपर्ने व्यवस्था छ । यसअघि परिषदले शैक्षिक प्रमाणपत्रको आधारमा दर्ता नम्बर उपलब्ध गराउँथ्यो । त्यसबाट गुणस्तरमा प्रश्न उठेपछि परिषदले परीक्षामा पास भएकाहरुलाई मात्र लाइन्सेन्स दिन थालेको हो ।
२०७८ चैत दोस्रो साता परिषदले पहिलो पटक इन्जिनियरको लाइसेन्स परीक्षा सन्चालन गरेको थियो । लाइसेन्सका लागि २ हजार ६ जनाले आवेदन फारम भरे पनि १ हजार ९८१ जना मात्र परीक्षामा सहभागी भएका थिए । तीमध्ये ५६५ जनामात्र पास भएका थिए भने ११ जनाको परीक्षा रद्द गरिएको थियो ।
Comments