Sajhamanch Archive

विराटपोखरमा मुसहर महिलामाथि निर्घात कुटपिट

Published: in मुख्य समाचार, लोकप्रिय, समाज by .

बिर्तामोड । दशकौंदेखि भूमिहीन मुसहरहरु बसेको ऐलानी जग्गा षडयन्त्र गरेर आफ्नो नाममा पारेका बिर्तामोड १० को राजवंशी परिवारले मुसहर वस्तीलाई उठीबास लगाउन एकजना मुसहर महिलालाई निर्घात कुटपिट गरेका छन् ।

बिर्तामोड १० विराटपोखरमा उत्तर–दक्षिण सडकको पश्चिमपट्टी पुस्तौंदेखि ऐलानी जग्गामा बसेका ९ घर मुसहरहरुलाई विगत दुई वर्षदेखि पवन राजवंशीको परिवारले उठीबास लगाउन विभिन्न षडयन्त्र गर्दै आएका थिए ।

पटकपटक धाक धम्की दिदै आएको राजवंशी परिवारले आज बिहान मुसहर बस्तीकी ४० वर्षिया जासो ऋषिदेवलाई निर्घात कुटपिट गरेका हुन् । भत्केको टहरा बनाउँदै गरेकी जासोलाई पवनका छोरा दुर्गा राजवंशीले लठ्ठी र लात्तले हानेर घाइते बनाएको मुसहर बस्तीकी बसन्ती ऋषिदेवले बताइन् ।

श्रीमान शत्रुधन ऋषिदेव काममा गएको बेला एक्लै घरमा काम गर्दै रहेकी जासोलाई दुर्गाले निर्घात कुटपिट गरेको बसन्तीले जानकारी दिएकी छन् । टाउकोमा चोट लागेकी घाइते जासोलाई उपचारका लागि बिर्तामोड ल्याइएको छ । मुसहरहरुले प्रहरीमा उजुरी दिएका छन् ।

मुसहरहरु बसेको ऐलानी जग्गा हडपेर अन्याय गरेको राजवंशी परिवारले अझ अत्याचार गर्न थालेको वडाध्यक्ष दुर्योधन गुरुङले बताएका छन् । उनले कुटपिटमा संलग्न राजवंशीमाथि कार्वाहीको माग पनि गरेका छन् ।

वर्षौदेखिको आफ्नो थातथलोबाट उठीबास लगाउने षड्यन्त्र भइरहँदा समेत आफूहरुलाई कसैले पनि सहयोग नगरेको बिर्तामोड १० का मुसहरहरुको गुनासो छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *