Sajhamanch Archive

ओमानलाई नेपालले दियो ३११ रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, विश्व समाचार by .

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो ।

नेपालका लागि कुशल मल्लले शतक पुरा गरे भने सोमपाल कामीले अर्धशतक बनाएका थिए ।

दुवै टोलीले आफ्नो पहिलो खेल जितेका थिए । नेपालले उदघाटन खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो भने ओमानले कतारलाई ४० रनले हराएको थियो ।

दुवै टोली लगातार दोस्रो खेल जित्दै सेमिफाइनल यात्रालाई सहज बनाउने योजनामा छन् । यस समूहमा अर्को टोली साउदी अरेबिया छ । समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

च्याम्पियन टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले पनि सबै टोलीको ध्यान एसिया कपमा रहेको छ । एसिया कप छनोटको आधार समेत रहेकाले घरेलु मैदानमा च्याम्पियन बन्दै भारत र पाकिस्तानसँग एसिया कपमा खेल्ने नेपालको सपना छ ।

नेपाल र ओमान दुवै एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त टोली हुन् । यस प्रतियोगितामा नेपाल र ओमान बीचको खेल ओडिआई मान्यता पाउनेछ, जुन नेपालको ५०औं ओडिआई खेल हुनेछ ।

नेपालले अहिलेसम्म क्रिकेट विश्वकप लिग टु मा ३६ खेल खेल्दा नेदरल्याण्ड, युएई र पपुवा न्युगिनीसँग सिरिजमा १२ खेल खेलेको छ । यस्तै एसिया कप छनोटमै यसअघि युएईसँग एक ओडिआई खेलेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *