Sajhamanch Archive

ट्याङ्करको लकिङ प्रणाली नै फोडेर पेट्रोल तस्करी

Published: in मिडियाबाट साभार, समाज by .

काठमाडौँ । आयल निगमले इन्धनमा हुने चोरी र चुहावट रोक्न भन्दै लकिङ प्रणाली जडान गरे पनि तेलको तस्करी हुने गरेको पाइएको छ । लकिङ प्रणाली जडान भएकै ट्याङकरबाट इन्धन तस्करी भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)को डिपोबाट पेट्रोल ल्याउँदै गरेको लु २ ख ४८३९ नम्बरको ट्याङ्करले स्वीकृत पीडीओ भन्दा बढी पेट्रोल ल्याएर तस्करी गरेको पाइएको छ ।

भैरहवा नाकाबाट भन्सार पासको क्रममा शंका लागेपछि प्रहरी र भन्सार कार्यालयले ट्याङ्करलाई नियन्त्रणमा लिइएको थियो । निगमको कर्मचारीसहित भलवारी डिपोमा ट्याङ्कर जाँच गर्दा स्वीकृत पीडीओ २० किलोलिटर भन्दा बढी पेट्रोल भेटिएको हो ।

‘भन्सार पासको क्रममा ३ वटा ट्यांकरमाथि शंका भयो । डिपोमा लगेर जाँच गर्दा २ वटा ट्याङ्करमा कैफियत देखिएन,’ निगमका प्रवक्ता मनोज ठाकुरले भने, ‘लु २ ख ४८३९ नम्बरको ट्याङ्करमा भने स्वीकृत कोटाभन्दा ३ हजार ३ सय ८३ लिटर बढी देखियो ।ु प्रहरी, भन्सार र निगमका कर्मचारीसहित मुचुल्का बनाएर ट्याङ्कर नियन्त्रणमा राखिएको उनले बताए । उक्त ट्यांकर एक्सप्रेस ढुवानी सेवा प्रालिको हो । प्रालिका सञ्चालक चोप नारायण श्रेष्ठ हुन् । उनी पश्चिमाञ्चल ट्यांकर व्यवसायी संघका वरिष्ठ सल्लाहकार समेत हुन् ।

श्रेष्ठ संघको पूर्वअध्यक्ष पनि हुन् । ‘श्रेष्ठकै ट्याङ्कर विगतमा पनि तस्करीमा संलग्न भएको आरोप छ । करिब ७ वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सर्वोच्चमा श्रेष्ठविरुद्ध मुदा दायर गरेको थियो,’ एक पेट्रोलियम व्यवसायीले भने, ‘अहिले फेरि त्यही नियति देखिएको छ ।’ ती अधिकारीका अनुसार इन्धन ढुवानी गर्ने ट्यांकरमा लकिङ प्रणाली जडान गरिएको छ । लकिङ गरिएकै ट्यांकरबाट तस्करी हुनु भनेको गम्भीर घटना भएको उनको भनाइ छ । नेपाल र भारत सीमामा इन्धनको मूल्य फरकरफरक छ । प्रवक्ता ठाकुरका अनुसार भैरहवा सीमा क्षेत्रमा नेपालभन्दा भारततिर प्रतिलिटर करिब ४ रुपैयाँसम्म सस्तो छ । त्यही कारणले पनि तस्करी बढ्दै गएको जानकारहरु बताउँछन् । ‘ट्यांकरको क्षमता २० किलोलिटरको हो । सुरक्षाका लागि ६र७ सय लिटरको स्पेस बनाइएको हुन्छ । तर, जोखिम मोलेर बढी ल्याइएको देखियो,’ ठाकुरले भने, ‘आईओसीले लोड गर्दा तुरुन्तै चलानी काट्छ । स्वीकृत पीडीओभन्दा बढी आयात गरेको देखियो । अनुसन्धानको विषय बनेको छ।’

भैरहवा डिपो प्रमुख जगदिश चन्द्र यादवले प्रहरीले थप अनुसन्धान गरेपछि मात्रै निगमले कारबाही गर्ने बताए । ‘लकिङ गरिएको ट्यांकरमा बढी इन्धन देखियो । भारतको स्थानीय बजारबाट पनि खरिद भएको हुनसक्छ,’ उनले भने, ‘लक गरिएको ट्यांकर बिगारेर हुनसक्छ । त्यो अनुसन्धानको विषय बनेको छ । प्रहरीले अनुसन्धान गर्दैछ ।’ ट्यांकर प्रहरीले नियन्त्रणमा लिएपछि चालक र सहचालक फरार भएको निगमले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *