पूर्वप्रधानमन्त्रीमाथिको अभद्र ब्यवहार भत्सर्नायोग्यः एमाले
Published: (Updated: )
by .झापा । बुद्धशान्ति गाउँपालिकाको बुधबारेमा आज नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी उहाँमाथिको अभद्र ब्यवहार र सवारीमाथि ढुंगा प्रहार भएको घटनालाई एमाले झापाले भत्सर्नायोग्य भनेको छ ।
जिल्ला अध्यक्ष दिपक कार्कीले बुधबार साँझ विज्ञप्ति प्रकाशन गरी ‘प्रदेश नम्बर १ लाई निर्वाचित प्रदेशसभा सदस्यहरुको ९० प्रतिशतभन्दा बढीको समर्थनमा ‘कोशी प्रदेश’ नामाकरण गरिएको भन्ने कुरालाई चटक्कै बिर्सिएर सम्माननीय पूर्व प्रधानमन्त्रीमाथि अभद्र ब्यवहार गर्नु निन्दनीय छ’ भनेका छन् ।
‘कोशी’ नाममा यस प्रदेशका सबै जातजातिको पहिचान अटाएको छ । धेरै जातजाति र पहिचान भएको ठाउँमा एकल जातीय पहिचानलाई समेट्नु भन्नु आफैंमा असान्दर्भिक तर्क हो । एकल पहिचान खोजेर राष्ट्रिय एकतालाई खलबलाउनु उचित हुँदैन । अझ प्रदेशको नाम संविधान बमोजिम जननिर्वाचित संसदको बहुमतले पारित गरेकोले यसको विरोधका नाममा हुलहुज्जत गर्नु ठिक नभएको हाम्रो निश्कर्ष छ’ विज्ञप्तिमा उल्लेख छ ।
उक्त घटनामा घाइते प्रहरीहरुको स्वास्थ्य लाभको कमना गर्दै विज्ञप्तिमा यथोचित उपचारको ब्यवस्था गर्न माग पनि गरिएको छ । विरोधका नाममा हुलहुज्जत गर्ने र सुरक्षाकर्मी माथि ढुंगा हान्नेलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न एमाले झापाले प्रशासनसमक्ष माग पनि गरेको छ ।
सोही घटनालाई पार्टीका विभिन्न निकायले घोर निन्दा गरेका छन् । पार्टी केन्द्रीय कार्यलयका तर्फबाट प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा झापाको बुद्धशान्ति गाउँपालिकामा आयोजित कार्यक्रममा जाने क्रममा उच्छृंखल समूहले अध्यक्ष ओलीमाथि दुर्ब्यवहार गरेको उल्लेख गरेका छन् ।
‘समाजमा शान्ति र मेलमिलाप भंग गर्ने नियोजित षड्यन्त्रस्वरुप सत्तापक्ष कै कार्यकर्ता समेतको नेतृत्वमा भएको यस घटनाको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ‘यस्ता अवाञ्छित कार्यमा संलग्नहरु माथि कडा कानुनी कारबाही गर्न माग गर्दछौं ।’
यसैगरी राष्ट्रिय युवा संघ नेपालले अध्यक्ष ओलीप्रति भएको आक्रमणको प्रयासको कडा शब्दमा आपत्ती जनाएको छ । अध्यक्ष क्षितिज थेबेले जारी गरेको विज्ञप्तिमा अनेकतामा एकता, सामाजिक सद्भाव र सहिष्णुता नेपालको विशिष्ट पहिचान हो र यसलाई जीवन्तता दिनु हाम्रो कर्तव्य भएको स्मरण गराइएको छ ।
‘राष्ट्रियता, लोकतन्त्र, स्वतन्त्रता, सामाजिक न्याय र जनजिविकाको आन्दोलनमा आफ्नो जीवन समपर्ण गर्नु भएका समृद्ध नेपाल, सुखी नेपालीका नायक माथि अलोकतान्त्रिक तवरले हमला गरिनु नेपाली जनताको सपना माथि गम्भिर प्रहार हो’ थेबेले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
थेबेले अध्यक्ष ओली माथिको आक्रमणको प्रयासको युवा संघ नेपालले प्रतिवाद गर्ने भएकोले युवा संघका सबै कार्यकर्तालाई निर्देशन दिएका छन् ।
Comments