Sajhamanch Archive

संखुवासभामा हेलिकप्टर दुर्घटनाः एक जनाको मृत्यु, चारजना घाइतेलाई उपचारका लागि काठमाडौं लगियो

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

भोजपुर । संखुवासभाको भोटखोला गाउँपालिका–४ मा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले बताएका छन् । मृतक गुरुङ हेलिकप्टरमा सहयोगीका रूपमा काम गर्दै आएका थिए ।

आज शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका–४ हटियाको सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकप्टर दुर्घटना भएको हो ।

क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापा, विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते छन् । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको छ ।

घाइतेमध्ये विक्रम शंकरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सिम्रिक एयरको अर्को हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ । त्यस्तै क्याप्टेन सुरेन्द्र पौडेल, कोपाइलट छिरिङ भोटे, सहयोगी मनोज थापालाई घटनास्थलबाटै उद्धार गरेर काठमाडौं लगिएको छ ।

हटिया गोलाको छोङग्राङबाट माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामग्री बोकेर उडेको हेलिकप्टर सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएको थियो । सेनाको हेलिकप्टर दुर्घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो ।

हेलिकप्टरले विद्युतका सामग्री झुन्डयाएर सिलिङ अपरेसन गर्दै आइरहेको थियो । सिम्रिकको हेलिकप्टर बिहीबार काठमाडौंबाट खाँदबारी प्रहरी कार्यालयमा अवतरण भई उत्तरी गोलातर्फ बेलुकी गएको थियो । त्यहाँ उसले शुक्रबार बिहानदेखि विद्युतका सामान ओसार्न सटल उडान गर्दै आइरहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *