Sajhamanch Archive

तस्करी रोक्ने जिम्मा पाएको सुरक्षा बल कै नेतृत्वमा तस्करी भइरहेको खुलासा

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

भद्रपुर । झापाबाट नेपाल–भारत सिमावर्ती क्षेत्रमा अवैध तस्करीमा सीमा सुरक्षा बलकै नेतृत्व संलग्न रहेको पाइएको छ । पछिल्लो पटक वैशाख २३ गते दक्षिणी झापाको कचनकवलस्थित केचनाको लोदाबारी नाकामा अवैधरूपमा फेला परेको ११५ कार्टुन स्याउ काण्डमा सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर)को संलग्नता पाइएको हो ।

वैशाख २३ गते केचनाबाट तस्करी गरेर भारततर्फ लैजाँदै गरेको ११५ कार्टुन फूजी स्याउ सशस्त्र प्रहरीको गस्ती टोलीले नियन्त्रणमा लिएको थियो । सो स्याउ तस्करीमा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म घेराबारी झापाका प्रहरी नायब उपरीक्षक सुमन शर्मा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका प्रहरी निरीक्षक ओकिल धानुक कारबाहीमा परेका हुन् ।

उनीहरूलाई तस्करीमा संलग्न रहेको आरोपमा कारबाही स्वरूप सशस्त्र प्रहरी बल वराह बाहिनी मुख्यालय सुनसरीमा तानिएको बाहिनीपतिको कार्यालयले जनाएको छ ।

प्रहरीले कचनकवलस्थित लोदाबरी चोकमा मे १ ज २८०४ नम्बरको टाटा गाडीमा ११५ कार्टुन स्याउ बरामद भएपछि सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईंको संयोजकत्वमा छानबनि समिति गठन भएको थियो । छानबिनका क्रममा शर्मा र धानुकको संलग्नता देखिएपछि अनुसन्धानका लागि मुख्यालय तानिएको सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक डीआईजी अञ्जनीकुमार पोखरेलले जानकारी दिएका छन् ।

शर्माको ठाउँमा डिएसपी प्रभात गौतम र केचनामा प्रहरी निरीक्षक जितेन्द्रबहादुर बस्नेतलाई पठाइएको जनाइएको छ । छानबनि समितिले प्रतिवेदन बुझाउन बाँकी रहेको बताउँदै पोखरेलले प्रारम्भिक छानबिनको क्रममा घटनामा दुवै जनाको संलग्न रहेको देखिएकोले प्रतिवेदन आएपछि दोषी ठहरेमा थप विभागीय कारबाही हुने समेत जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *