टेकुमा डीएसपीहरु बस्ने कोठा पूर्वगृहमन्त्रीको हिरासत
Published: (Updated: )
by .काठमाडौं । नेपाली नागरिकलाई शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्ने गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला प्रहरी परिसर, टेकुले छुट्टै कोठामा राखेको छ ।
अरु बेला प्रहरी नायब उपरीक्षक डीएसपी हरु बस्ने कोठामा उनलाई राखिएको हो । कोठाभित्र राखेर बाहिरबाट चुकुल लगाइएको छ । बाहिरपट्टी उनलाई रुंग्न दुई जना प्रहरी बसेका छन् ।
‘तर जिल्ला प्रहरी परिसर, टेकुमा त्यस्तो विशेष व्यवस्था केही छैन,’ उनले अनलाइनखबरसँग भने, ‘यहीँ भएको एउटा छुट्टै कोठामा राखेका छौं।’ हिरासतमा नक्कली शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरु भएकाले एकैठाउँमा सबैलाई राख्नु उपयुक्त पनि नहुने प्रहरी अधिकृतहरु बताउँछन् ।
‘बयान भइनसकेको अवस्थामा सल्लाह गर्ने अवस्था पाउनसक्छन्, त्यसैले छुट्टाछुट्टै राखेका हौं’, जिल्ला प्रहरी परिसर, काठमाडौंका ती अधिकृतले भने । खाँणलाई हालसम्म भेट्न परिवारका सदस्य र शुभेच्छुकहरु मात्र आएका छन् । हालसम्म नेताहरु उनलाई भेट्न नपुगेको प्रहरी अधिकृतहरु बताउँछन् ।
‘प्रदेशका एक जना सांसद् चाहिँ आउनु भएको थियो, अरु खासै आउनु भएको छैन’, ती अधिकृतले भने, ‘उनले यहीँ क्यान्टिनको खाना खाइरहनु भएको छ, भित्र उहाँको कपडाहरु भएको झोलाबाहेक अरु केही दिइएको छैन।’
प्रहरीले खाँण गृहमन्त्री हुँदा मन्त्रालयका सचिव रहेका टेकनारायण पाण्डेलाई प्रहरी वृत्त, सिंहदरबारमा राखेको छ । त्यहाँ पनि उनलाई छुट्टै कोठामा राखेको छ । ‘उहाँको पनि स्वास्थ्य समस्या रहेछ, त्यसैले सँगै नराखिएको हो’, सिंहदरबार प्रहरीका एक अधिकृतले भने, ‘छुट्टै स्थानमा थुनेर राखिएको हो ।’
पाण्डे २० वैशाखमा पक्राउ गरेका थिए । पाण्डेको गिरोहका नाइके केशव दुलाल र ललितपुरका सानु भण्डारीसँग साँठगाँठ देखिएको छ । उनले राजनीतिक नेतृत्वलाई पनि मिलाउने भन्दै ५ करोड ६० लाख रुपैयाँ लिएको तथ्य फेला परेको प्रहरीले जनाएको थियो ।
प्रहरीले पाण्डेको बयान र नीतिगत विषयमा गिरोहलाई सहयोग गरेको फेला परेपछि तत्कालीन गृहमन्त्री खाँणलाई पक्राउ गरेको थियो ।
Comments