शरणार्थीको नाममा ठग्ने गिरोहले कसरी पायो सरकारी गाडी हज समितिका अध्यक्षमाथि छानबिन
Published:
by .काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै लाखौं असूली गर्ने गिरोहले सरकारी गाडी प्रयोग गरेर विभिन्न ठाउँमा ‘पीडित’हरुसँग भेट गरेको खुलेको छ ।
चितवनको एक रिसोर्टमा सरकारी गाडीमा गएका गृह मन्त्रालयका कर्मचारी बताउनेहरुले पीडितको फोटो खिच्ने र शरणार्थीसम्बन्धी गणनामा छुटको फारम भराउने काम गरेको पीडितहरुको बयान छ ।
त्यसबेला सरकारी कर्मचारी बताएर जानेहरु को को थिए भन्ने खुलिसकेको छैन । यद्यपि, प्रारम्भिक जाँचमा ठगी गर्ने गिरोहका सदस्यहरु नै कर्मचारी बनेर ठगीमा संलग्न हुनसक्ने देखिएको छ ।
त्यसबेला प्रयोग भएको सरकारी गाडी चाहिँ गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयको भएको खुलेको छ । हज समितिलाई अध्यक्ष र सचिवालयले प्रयोग गर्ने गरी दुई वटा गाडी मन्त्रालयले उपलब्ध गराउने गर्छ ।
‘हज समितिका अध्यक्ष शमशेर मियाँको गाडी लिएर उनीहरुले पीडितलाई भेट्ने, प्रलोभनमा पार्ने र रकम समेत उठाउने गरेको भेटिएको छ’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘उनीहरुलाई किन गाडी दिइएको थियो भन्ने खुलेको छैन ।’
प्रहरीले हज कमिटीका अध्यक्ष शमशेर मियाँसँग बयान लिने‘उहाँ र टोपबहादुर रायमाझी दुवै अर्घाखाँचीको हुनहुुन्छ, त्यो हिसाबले पूर्वउर्जामन्त्री रायमाझीज्यूमार्फत गिरोहसँग जोडिएको जस्तो देखिन्छ’, ती अधिकृतले भने, ‘तर, उहाँसँग सोधपुछ गर्न नपाएकाले स्पष्ट भइसकेको छैन ।’
यस विषयमा प्रहरीले आइतबार राति पक्राउ परेका पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीसँग पनि सोधपुछ गर्ने तयारी गरेको छ ।
जिल्ला अदालत, काठमाडौंले अनुसन्धानका लागि रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । योसँगै उनको बयानसमेत जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा सुरु भएको छ ।
सरकारी वकिलले प्रहरीलाई बुधबारभित्र अनुसन्धान सकेर रायसहितको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । ‘समय थोरै छ, धेरै विषयमा सोधपुछ गर्न बाँकी छ’, ती अधिकृत भन्छन्, ‘सरकारी गाडी ठगको गिरोहलाई दिनेहरुमाथि पनि अनुसन्धान भइरहेको छ ।
Comments