Sajhamanch Archive

बाढीबाट बस्ती जोगाउन भन्दै खोला थुन्ने प्रयास

Published: in मिडियाबाट साभार, समाज by .

दाङ । दाङको गढवा गाउँपालिका वडा नम्बर २ मा वर्षायाममा हुने डुबान नियन्त्रण गर्न भन्दै खोलाको प्राकृतिक बहाव नै रोकिने गरी बाँध बाँधिएको छ । विपद पूर्वतयारीको नाममा कोठरी गाउँबाट करिब डेढ किलोमिटर दक्षिणतर्फ जंगल क्षेत्रमा पर्ने गङ्गरे खोलामा बाँध बाँधेर त्यसको बहाव महदेवा गाउँतर्फ सोझ्याइएको छ ।

गढवा गाउँपालिकाको विपद व्यवस्थापनको बजेटबाट जंगल क्षेत्रमा ५० मिटर लामो र ४ मिटर अग्लो बाँध बाँधेर खोलाको बहाव महदेवा गाउँतर्फ सोझ्याएको पाइएको स्थानीय समाजसेवी खगेश्वर शर्माले जानकारी दिए । त्यसको जानकारी पाएलगत्तै आफूहरु बाँधस्थलमै पुगेर निरीक्षण गरेको र गाउँपालिकालाई काम बन्द गर्न भनेको उनले बताए ।

चुरे क्षेत्रबाट निस्किने गङ्गरे खोला उत्तरतर्फ बग्दै पचाहा, कोठरी, खौराहा र मन्द्रेनी खोलामा बाँडिएको छ । ती खोलाहरुको पानी राप्ती नदीमा मिसिन्छ । हिउँदमा सुक्खा हुने र वर्षामा उर्लिने भेलका कारण ती खोलाले पचाहा, कोठरीका साथै बघमरुवा, डाँडागाउँ र महदेवाको बड्का गल्लीका बस्ती बर्सेनि डुबानमा पर्दै आएका छन् ।

कोठरी र पचाहाका बासिन्दाले वर्षामा आफ्नो गाउँलाई जोगाउन भन्दै बाँध बाँधेर खोलाको बहाव महदेवा गाउँतर्फ सोझ्याइदिएका हुन् ।

यो कार्यको महदेवावासीले विरोध जनाएका छन् । ‘पहिले खोलाको बाढी पचाहा, कोठरी र महदेवा गरी तीन तिर बाँडिन्थ्यो । अहिले पचाहा र कोठरीतर्फ जानबाट रोकेर खोलालाई महदेवातिर सोझ्याइदिएपछि हामीले विरोध गरेका हौं,’ महदेवा गाउँ सुधार समितिका अध्यक्ष जनकमान चौधरीले भने ।

गत वर्ष मन्द्रेनी र खौराहा खोलामा आएको बाढी वस्तीमा पस्दा महदेवा र डाँडागाउँका सयौं घर डुबानमा पर्नुका साथै धानबालीमा पनि ठूलो क्षति पुगेको थियो । झण्डै एक महिनासम्म गढवा–कालाकाटे हुलाकी सडकखण्डमा यातायात सेवा पनि अवरुद्ध भएको थियो । महदेवा–सिसहनियाँ जोड्ने पक्की पुल र नमूना प्राविमासमेत बाढीले क्षति पुर्याएको थियो ।

‘तीन तिर बाँडिएको खोलाको बाढीले त महदेवातिर त्यत्रो क्षति पुर्याएको थियो भने अहिले सबै महदेवातिरमात्रै सोझ्याइदिँदा वर्षामा झन् कति ठूलो क्षति होला रु’ स्थानीय पोषणराज शर्मा भन्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *