Sajhamanch Archive

नक्कली भुटानी शरणार्थी प्रकरण : रिजाल र मिया पनि पक्राउ

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसरको टोलीले रिजाललाई झापाबाट काठमाडौं आउने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

यसअघि नै पक्राउ परेका केही अभियुक्तले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने काममा टेकनाथ रिजालको नामसमेत लिएको र थप प्रमाण पनि भेटिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

आज नै नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई सिंहदरबारमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट पक्राउ गरेको काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

यसैबीच, काठमाडौ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धानका लागि आज पक्राउ परेका भुटानी शरणार्थी नेता रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई हिरासतमा राखेर अनुसन्धान गर्न दुई दिनको म्याद दिएको छ ।

रिजालमाथि यसअघि हिरासतमा परेका सानु भण्डारीसँग आर्थिक कारोबार भएको पाइएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । विगतमा रिजालले बाँकी रहेका शरणार्थीको पुनर्बासका लागि पहल गरेका थिए । त्यही आधारमा सरकारले कार्यदल गठन गरेको थियो ।

यता हज समितिका अध्यक्ष मियाँलाई भने गिरोहसँगको मिलेमतो गरेको आरोप छ । उनले हज समितिका लागि प्रयोग गर्न दिएको गाडी गिरोहलाई प्रयोग गर्न दिएको खुलेको प्रहरीले जनाएको छ । त्यो सरकारी गाडी अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव (पूर्व गृहसचिव) टेकनारायण पाण्डे, पूर्व गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा। इन्द्रजीत राईलगायत १६ जना पक्राउ परिसकेका छन् ।

यस प्रकरणमा अब प्रहरीले छ दिनमा अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा पुर्‍याउनुपर्ने छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शरणार्थी प्रकरणको घटनाको ठगी र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *