बिर्तामोड खानेपानीको चुनावमा द्विपक्षीय प्रतिष्पर्धा हुने
Published:
by .बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको यही जेठ १५ गते हुन लागेको निर्वाचनका लागि ९ पदमा २१ जनाले आज मनोनयन दर्ता गराएका छन् ।
नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त प्यानल लोकतान्त्रिक राष्ट्रवादी समूहबाट ९ जनाको सिङ्गै प्यानलले उम्मेदवारी दिएका छन् । अर्को प्यानल स्वतन्त्र प्रगतिशील समूहबाट पनि ९ जनाको नै उम्मेदवारी परेको छ । निर्वाचनमा द्विपक्षीय प्रतिष्पर्धा हुने भएको हो ।
लोकतान्त्रिक राष्ट्रवादी समूहको प्यानलमा अध्यक्ष, उपाध्यक्ष , सचिव, एउटा खुल्ला सदस्य र तीनवटा महिला सदस्य कांग्रेसले लिएको छ भने राप्रपाको भागमा कोषाध्यक्ष र एउटा खुल्ला सदस्य परेको छ ।
कांग्रेसका तर्फबाट अध्यक्षमा मेघराज बाँस्तोला, उपाध्यक्ष शैलेन्द्र सिटौला, सचिवमा पारस मैनाली, खुल्ला सदस्यमा आनन्द गुरुङ, महिला सदस्यमा बालादेवी खरेल, माया प्रधान खड्गी र कमला अग्रवालले उम्मेदवारी दिएका छन् ।
यस्तै राप्रपाको तर्फबाट कोषाध्यक्षमा शारदा रिजाल र खुल्ला सदस्यमा खगेन्द्र थापाको उम्मेदवारी परेको छ । मनोनयन दर्ताअघि आज बिहान बिर्तामोडमा संयुक्त पत्रकार सम्मेलन गरी दुवै पार्टीले उम्मेदवार घोषणा गरेका थिए ।
स्वतन्त्र प्रगतिशील समूह खानेपानीका स्वतन्त्र उपभोक्ताहरुसहित नेकपा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संयुक्त गठबन्धन बनाएका छन् ।
वर्तमान कार्यसमिति सदस्य देवेन्द्र सिटौलालाई अध्यक्षको उम्मेदवार बनाएको स्वतन्त्र प्रगतिशील समूहले आफ्नो प्यानलबाट उपाध्यक्षमा प्रदिप खरेल, सचिव विष्णुप्रसाद चुडाल, कोषाध्यक्षमा विनिता राजवंशीले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै समितिको खुला सदस्यहरुमा छत्रबहादुर श्रेष्ठ र सुनिल शिवाकोटी तथा महिला सदस्यहरुमा तारा राई, पुनम अधिकारी सुब्बा र खगमाया सिलवाल ढुंगाना (सिमा)ले उम्मेद्वारी दिएका छन् ।
सो प्यानलमा एमालेले उपाध्यक्षसहित चार सदस्य पाएको छ भने माओवादीले सचिव र एक सदस्य पाएको छ । जसपाको भागमा भने कोषाध्यक्ष परेको छ ।
समितिको कोषाध्यक्ष पदमा केशवकुमार श्रेष्ठ र खुल्ला सदस्य पदमा योगेश शर्मा र बलराम सिटौला (राम)ले प्यानल बिना उम्मेदवारी दर्ता गराएका छन् ।
Comments