ओलीलाई नेपालको प्रश्न : अरुलाई सत्तो सराप गरेर हुँदैन, बनिसकेको सरकार किन हातबाट फुत्कियो ?
Published: (Updated: )
by .काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारबाट बाहिरिएकोमा अरुलाई दोष दिएर सत्तोसराप नगर्न एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । हातमा आइसकेको सत्ता किन फुत्कियो भन्ने आत्मसमीक्षा गर्न नेपालले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई सुझाव दिएका हुन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै सरकार बाहिर रहनुपर्नाको पीडा र व्यथा नपोख्न सुझाएका हुन् ।
‘यो देशलाई बनाउन सकिन्छ । त्यसका लागि हामीहरुबीच सहकार्यको आवश्यकता छ । एकले अर्कालाई घोचपेच गरेर मात्रै हुँदैन । आफ्नो पीडा, व्यथा पोखेर मात्रै हुँदैन । सरकारमा बस्न सकिएन, त्यो बेग्लै कुरा हो । किन बस्न सकिएन रु त्यसको पछाडि अरुलाई दोष दिएर हुँदैन । बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो रु त्यसको निम्ति अरुलाई सत्तोसराप गरेर पनि हुँदैन,ु उनले भने । आफ्ना कमिकमजोरी के थिए भन्ने खोजी गर्नका लागि नेपालले सुझाव दिएका छन् । उनले भने, आफूभित्र के कमीकमजोरी रहे, त्यसको हामी सबैले समीक्षा गरौं । कमीकमजोरी भएका छन् भने ती कमीकमजोरीको पहिचान गरौं । त्यसलाई सुधार गरौं ।
अहिले नेताहरूमा व्यक्तिवादको समस्या देखिएको पनि नेपालको भनाइ थियो । हामी कहाँ सबभन्दा ठूलो समस्या यो व्यक्तिवादको रोग हो । आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति हो । अरुलाई अवमूल्यन गर्ने प्रवृत्ति हो । अरुको ज्ञान, अरुको बुद्धि र सबैको साथ लिने भन्दा पनि अनि आफ्नो पाराले चल्ने प्रवृत्ति पनि हो, उनले भने, यसबाट मुक्त हुन सकिएन भने, यो व्यक्तिवादको रोगबाट मुक्त हुन सकिएन भने अनि भ्रष्टाचारबाट चुर्लम्म डुब्ने प्रवृत्तिबाट मुक्त भइएन भने, कुरा एउटा, काम अर्को हुन्छ । कुरा ठूला गर्ने तर व्यवहारमा लागू नगर्नाले समस्या उत्पन्न भएको उनको भनाइ थियो ।
पूर्वप्रधानमन्त्रीहरू कसको पालामा कति काम भयो भन्ने विषयमा प्रतिस्पर्धामा सहभागी हुन आफू तयार रहेको नेपालको भनाइ थियो । उनले आलोचना सहन सक्नुपर्ने पनि सुझाव दिएका थिए । विगतमा आयोजनाको प्राथमिकीकरण नहुँदा समस्या उत्पन्न भएको पनि उनले बताए । आलोचना पनि सहन सक्नुपर्छ । हाम्रो पालामा कति हावादारी योजना आए रु यो मितिमा टिकट काट्नुस्, ठ्याक्क बिजुलीको रेल चढ्नुहुनेछ । यस्ता हावादारी योजना ल्याउनु हुँदैन । अनि घरघरमा ग्यास, खोइ ग्यास त्यसो हुनाले यस्तोमा कहाँ कहाँ त्रुटि भयो उनले भने ।
नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई इमानदारिताका साथ अगाडि बढ्न आग्रह गरेका थिए । तपाईं इमान्दारिताका साथ अगाडि बढनोस् । लगनशीलताका साथ अगाडि बढनोस् । यो भ्रष्टाचारको जालोलाई तोडने काम गर्नुहोस् । स्वच्छ सरकार यो देशलाई प्रदान गर्नुहोस् । गतिशील सरकार यो देशलाई प्रदान गर्नुहोस्, उनले भने, काममा इमान्दारसाथ खट्नेहरू र काम ठगहरू अनि सत्ताको दुरुपयोग गर्न खोज्नेहरू को–को हुन् त्यसको पहिचान गरेर खराब तत्वहरूलाई दण्डित गर्नुहोस् । असलहरूलाई प्रोत्साहित गर्ने काम गर्नुहोस् ।’
अध्यक्ष नेपालले सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
Comments