कालोपत्रेको पर्खाइमा शिवसताक्षी ११ को मैनाचरी मार्ग
Published:
by .शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं ११ दूधेमा पूर्वपश्चिम राजमार्गसँगै जोडिएको सहायक बाटो मैनाचरी मार्ग दशकौं पुरानो भए तापनि अझै कालोपत्रे गरिएको छैन । पूर्व पश्चिम महेन्द्र राजमार्गको दूधे–झिलझिले खण्डको बीचमा उत्तरतर्फ रहेको सो बाटोलाई कालोपत्रे गर्ने स्थानीय बासिन्दाको अनेकल पहल अझै साकार नभएको हो ।
वि. सं. २०२४ सालबाट प्रयोगमा आएको मैनाचरी मार्गको लम्बाई दुई किलोमिटर रहेको छ । ५०० हाराहारी घर परिवारको बसोबास रहेको सो सडक यात्रामा सहज बनाउन विकासे निकायहरुको ध्यान पर्न नसकेको स्थानीय बासिँदाको गुनासो छ ।
झापा निर्वाचन क्षेत्र नं ४ प्रदेश (क) मा पर्ने भूगोलमा रहेको सो बाटो क्षेत्रकै सबैभन्दा विकासमा पछि परेको पुरानो बाटो रहेको स्थानीय नारायण भट्टराई बताउँछन् । मैनाचरी मार्ग उपभोग गर्ने स्थानीय युवाहरूले विभिन्न प्रक्रियाबाट मार्गलाई कालोपत्रे गर्ने कुरामा स्थानीय सरकारलाई पनि पटकपटक ध्यानाकर्षण गराउँदै आएको भट्टराई बताउँछन् ।
नगर क्षेत्रका अन्य सडकहरू धमाधम कालोपत्रे भइरहँदा वडा नं. ११ को पुरानो बाटो, जुन प्रयोगमा आएको नै ६ दशक भइसकेको छ, तर पनि कालोपत्रे नभएकोमा स्थानीयहरु रुष्ट छन् । हामीले धेरै जनप्रतिनिधिसँग गुहार गरिसक्यौं, वडा कार्यालय र नगरपालिकामा लागत इटमेट गराएर संघीय सांसदलाई समेत दिइसकेका छौं तर हामी अझै उपेक्षामा परेको महसुस भइरहेको छ शिक्षकसमेत रहेका युवा नारायण भट्टराई सुनाउँछन् ।
हालै एउटा कार्यक्रमको प्रमुख अतिथि बनेर आएका प्रदेश सांसद राधाकृष्ण खनाललाई उक्त समस्या सुनाउँदै स्थलगत अवलोकन गराएको बताउँदै स्थानीय होटल व्यवसायी दाताराम विष्ट भन्छन्, ‘सांसद खनालले स्थानीयबासीको गुनासोलाई सम्बोधन गर्ने आश्वासन दिनु भएको छ, हेरौं कत्तिको पूरा हुने हो !?’
तीन तहको नै निर्वाचन भएर सरकारहरु फेरिएको वर्तमान सन्दर्भमा नगर तथा प्रदेश र संघीय सरकारमध्ये जसले आफ्नो क्षेत्रको पुरानो बाटोलाई निर्माण लागत जुटाइदिए पनि हुन्छ, अनिमात्र हामीले पनि सरकारप्रतिको भरोसा कायम रहने उनी बताउँछन् ।
चुनाव नजिकिँदा हरेक उम्मेदवारले कालोपत्रे गरिदिने बाचा गरेको भए पनि चुनाव जितिसके पछि आफ्नो बाचा बिर्सिएर नजरअन्दाज गरेकोमा स्थानीयको गम्भीर आपत्ती छ । हरेक चुनाव अगाडि गरेका बाचाहरू चुनाव पछाडि पूरा गरिदिए स्थानीयबासीलाई यात्रामा सहज हुने मैनाचरी मार्गका टोलबासी बताउँछन् ।
– प्रशिक्षार्थी अस्विन धिताल
Comments