एनएमसीमा नयाँ नेतृत्व चयन प्रक्रियाः २ पदमा उम्मेदवारी फिर्ताको लागि आज ५ बजेसम्म समय बढाइयो
Published:
by .मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)को नयाँ नेतृत्व चयन प्रक्रिया अन्तरगत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन अवधि आज २ घण्टाका लागि थप गरिएको छ ।
निर्वाचन कार्यतालिका अन्तरगत आज जेठ १४ गते ३ बजेसम्म उम्मेदवारी मनोनयन फिर्ता लिने र अन्तिम नामावलि प्रकाशन गर्ने समय तोकिएको थियो । निर्वाचन सचिवालयका अनुसार दुईवटा पदमा आवश्यकता भन्दा केही वढी उम्मेदवारी परेकोले सहमतिको प्रयासस्वरुप दुई घण्टा समय थप गरिएको हो ।
संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा रचना दाहालकोमात्र उम्मेदवारी परेकाले उनी निर्विरोध हुनेछिन् । तर दुईजना सदस्यका लागि टेकबहादुर कार्की, एकेन्द्र उप्रेती र फाल्गुनी दाहालले उम्मेदवारी दिएका छन् । सदस्यमा दुईजना आवश्यक भएकोमा तीन जनाको उम्मेदवारी परेकाले सर्वसम्मतिका लागि एकजनाले उम्मेदवारी फिर्ता लिने संकेत पाइएको स्रोतले जनाएको छ ।
यसैगरी सञ्चालक समिति सदस्य पदमा भद्रपुर केचना क्षेत्रबाट एक महिला र एक पुरुषको कोटा रहेकोमा पुरुष कोटामा तीनजनाको उम्मेदवारी परेकोले उक्त पदमा पनि सहमतिका लागि प्रयास भइरहेको जनाइएको छ । सो पदमा तोम भट्टराई, नविन भण्डारी र खगेन्द्रप्रसाद ओझाले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन सचिवालयका अनुसार आज अपरान्ह ५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
Comments