गणतन्त्रको उपहार राजदरबार परिसरमा जनताको पाइला
Published:
by .काठमाडाँ । २०१५ सालमा रानी रत्नको नाममा राजा महेन्द्रले फेवा किनारमा बनाए रत्न मन्दिर कस्तो होला भन्ने कौतुलता, धेरै पोखरेलीमा जस्तै बैदामकै इन्दिरा सापकोटाको पनि थियो । राजाहरु कुन वैभवका साथ रत्न मन्दिरमा बसेका होलान् रु देशमा गणतन्त्र आइसकेपछि पनि देख्न पाएकी थिइनन् । २०६२र०६३ को जनआन्दोलनले राजसंस्थाको अन्त्य भइसक्दा पनि रत्न मन्दिर रहस्यमै थियो ।
देशमा गणतन्त्र आएको १५ वर्षपछि बल्ल रत्न मन्दिरको परिसरमा मात्र भए पनि आम नागरिकले प्रवेश पाएका छन् । बर्सेनि खुल्ने चर्चामा आउने, प्रधानमन्त्रीदेखि पर्यटनमन्त्रीसम्मले जनताका लागि खुला गर्ने वाचा गर्ने तर नखुल्ने हुँदै आएको रत्न मन्दिर अन्नतः पर्यटनमन्त्री सुदन किराँतीले सोमबार औपचारिक उद्घाटन गर्दै जनताका लागि खुला भएको हो ।
नागरिकले अझै रत्न मन्दिर दरबारभित्र प्रवेश पाउने छैनन् । मर्मतको काम बाँकी नै रहेको भन्दै दरबारमा राजाका कोठा, प्रयोग गर्ने सामग्री नागरिकले अझै कहिले देख्न पाउने निश्चित छैन । ११४ रोपनीको विशाल क्षेत्रफलमा रत्न मन्दिर परिसर रहे पनि सबै क्षेत्रमा नागरिकको पहुँचमा हुने छैन । तर, दरबारलाई पृष्ठभूमिमा राखेर फोटो खिच्न र रत्न मन्दिर परिसरमा घुम्न पाउँदा पनि पोखरेली उत्साहित देखिएका छन् । १५औं गणतन्त्र दिवसको उपहार स्वरुप सबै जनताका निम्ति रत्न मन्दिर खुला गरिएको पर्यटनमन्त्री सुदन किराँतीको भनाइ थियो ।
पोखरेलीको वर्षौदेखिको चाहाना र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै निर्देशनअनुसार रत्न मन्दिर खुला गरिएको पर्यटनमन्त्री किराँतीले बताए । रत्न मन्दिर घुमेर हेर्दा साधारण लागे पनि यसलाई समयसँग दाँजेर हेर्नुपर्ने पर्यटनमन्त्री किराँतीको भनाइ थियो ।
‘आजभन्दा ७० वर्षअगाडि पोखरा कस्तो थियो होला रु २०१३ देखि ०१५ सालमा नेपाली जनता कहाँ थिए, कसरी बाँचेका थिए होलान् रु’ किराँतीले भने, ‘ती नेपालीको जीवनस्तर, २०१५ को र अहिलेको भौतिक विकास तुलना गरेर हेर्दाखेरी हाम्रा राजारानी बस्ने ठाउँ धेरै नै राम्रो थियो ।’ अहिले इतिहास बनेको रत्न मन्दिरलाई एउटा पर्यटकीय गन्तव्य बनाउने उनको भनाइ थियो । किराँतीले भनेझैं गणतन्त्रको उपहारस्वरुप रत्न मन्दिर हेर्न पाए पनि साधारण नै लागेको इन्दिराले बताइन् ।
रत्न मन्दिर परिसरमा नागरिकको भीड ।
‘हाम्रो पहुँचभन्दा बाहिर थियो । उनीहरु पनि हामीजस्तै मानिस रहेछन्, वैभव र कस्तो होला भन्ने कौतुहलतामात्रै मेटिएको हो,’ उनले भनिन्, ‘बाहिरबाट हेर्दा लाग्थ्यो, भित्र राजारानी कसरी बस्थे होलान् रु एकैदमै कौतुहलता हुन्थ्यो, आज देख्न पाउँदा खुसी लाग्थ्यो । यत्रो सुरक्षाकाबीच भित्र बस्ने को होला रु ठूलै बस्तु छ कि भन्ने लाग्थ्यो ।’
इन्दिराजस्तै सुवाखर सुनारले पनि रत्न मन्दिर छिर्दा अनौठो महसुस गरेको सुनाए । ‘के छ होला भित्रजस्तो लाग्थ्यो तर हेर्दा राम्रै लाग्यो, खासै केही रहेनछ,’ सुनारले भने, ‘पोखरेलीका निम्ति रमाउने, घुम्ने एउटा थलो बन्न सक्छ ।’
नारायणहिटी राजदरबार जनताका लागि खुला भइसक्दा पनि रत्न मन्दिर र हिमागृह भने व्यापारिक स्वार्थका कारण खुला नभएको पोखरेलीको भनाइ थियो । अन्नतः परिसरसम्मका लागिमात्रै भए पनि रत्न मन्दिर खुला हुँदा पोखरेली उत्साही भएका छन् । २०१५ सालमा तयार भएयता महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रसम्मका राजपरिवार रत्न मन्दिरमै आएर बस्ने गर्थे ।
रत्न मन्दिर राजपरिवारका लागि तत्कालीन पश्चिमाञ्चल क्षेत्रको भ्रमण गर्दा आउने, बस्ने ठाउँ थियो । महेन्द्र र वीरेन्द्रको पनि सबैभन्दा मनपर्ने ठाउँमध्ये रत्न मन्दिर नै पर्ने पोखराका पूर्व उपप्रधानपञ्च गणेशबहादुर भट्टराई बताउँछन् ।
महेन्द्र र वीरेन्द्रले विशेष गरी रत्न मन्दिरमा गीत गाउने, सुन्ने, कविता वाचन राख्ने गर्थे । वीरेन्द्रले रत्न मन्दिरमै पोखरामै जन्मोत्सवसमेत मानाउने गर्थे । ‘राजपरिवारका रसरङदेखि कुटनीतिक तथा विकाससम्बन्धी छलफल पनि रत्न मन्दिरमै हुन्थे,’ भट्टराई भन्छन्, ‘फेवा, पारी रानीवन, ठूलो कम्पाउण्डभित्रको शान्त दरबारमा जो कोहीको मन लोभिन्थ्यो तर राजाले इच्छाएको व्यक्तिबाहेक अरु कहाँ जान पाउनु रु’ देशमा गणतन्त्र आएपछि ज्ञानेन्द्र नै रत्न मन्दिरमा रमाउने अन्तिम राजा बने ।
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीदेखि यताका प्रत्येक पर्यटनमन्त्रीले पोखराको रत्न मन्दिर र हिमागृह जनताका लागि खुला गर्ने बताउँदै आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहालले २०७६ सालमै रत्न मन्दिर खुला गर्ने बताए पनि वाचा पूरा गरेनन् । नेपाल ट्रस्ट अन्तर्गत रहेको रत्न मन्दिर र हिमागृह खुला गर्ने पूर्व रक्षामन्त्री इश्वर पोखरेलले वचनै दिएका थिए । त्यतिबेला रक्षा अन्तर्गत नै नेपाल ट्रस्ट थियो । गृह हुँदै अहिले पर्यटन मन्त्रालय अन्तर्गत ट्रस्ट आएको हो ।
रत्न मन्दिरको अग्रभाग ।
पोखरेल रक्षा मन्त्री हुँदा नै रत्न मन्दिर र हिमागृह यति समूहलाई दिने तयारी भइसकेको थियो । तर, नागरिकस्तरबाटै पोखरेलीले विरोध गरेपछि यति समूहको कब्जामा जानबाट बचेको हो । गण्डकी प्रदेश सरकारले पनि रत्न मन्दिर आफ्नो मातहत दिन र रिसोर्ट बनाउन सकिने अध्ययनै गरेको थियो । मुख्यमन्त्रीको निवास हिमा गृहलाई बनाउने योजना बाहिर आएपछि पोखरेली आन्दोलित नै बनेका थिए ।
नेपाल ट्रस्ट पर्यटन मन्त्रालय अन्तर्गत आएपछि गत चैत २५ गते पोखरा आएका पर्यटनमन्त्री किराँतीले नयाँ वर्षको अवसरमा रत्न मन्दिर र हिमा गृह खुला गर्ने बताएका थिए । तर, नयाँ वर्षमा त्यो सम्भव नभए पनि गणतन्त्र स्थापना भएको १५ वर्षपछि बल्ल रत्न मन्दिर खुला भएको छ । तर, यसको सञ्चालन तथा व्यवस्थापन कसरी हुन्छ भन्ने प्रश्न भने यथायतै रहेको पर्यटन बोर्डका पूर्व सदस्य टीकाराम सापकोटा बताउँछन् ।
२०६२र०६३ को जनआन्दोलनले राजसंस्थाको अन्त्य भएपछि २०७६ सालमा रत्न मन्दिर नेपाल ट्रस्ट अन्तर्गत आएको हो । अझै पनि रत्न मन्दिर परिसरमात्रै खुला गरेर महंगो टिकट लिने हो कि भन्ने पोखरेलीको चिन्ता छ । नेपालीका लागि १ सय र विदेशीका लागि १ हजार रुपैयाँ शुल्क लिने तयारी छ । तर, दरबारभित्र छिर्न पनि नपाउने र गतिविधि पनि नहुने हो भने व्यवसायीकरणमात्रै हुने हो कि भन्ने चिन्ता पोखरेलीको छ ।
हिमागृहलाई पनि क्रमश खोल्दै जाने र रत्न मन्दिरको भित्रि भाग पनि पूरै खोल्नका लागि केही समय लाग्ने पोखराका मेयर धनराज आचार्यको भनाइ छ । विम्वका हिसाबले पनि गणतन्त्र दिवसमा रत्न मन्दिर खुल्नु महत्वपूर्ण रहेको मेयर आचार्यले बताए । मेयर आचार्यले मर्मत गरेर दरबारको भुईंतला भए पनि खोल्ने तयारी भएको बताए ।
१ सय १४ रोपनी क्षेत्रफलमा फैलिएको रत्न मन्दिरमा प्रशासनिक भवन, फेवातालसँगै ताल घर, सैनिक बस्ने ३८ कोठे लामो भवन छ । मुख्य भवनमा ११ कोठा छन् । तत्कालीन राजारानीले सुतेका कोठा, आराम गर्ने र खाना खाने कोठाहरु छन् ।
Comments