आधारभूत अस्पताल भवन त बन्ला, जनशक्तिका लागि बजेट खै ?
Published:
by .काठमाडौं । अर्थमन्त्री डा।प्रकाशशरण महतले सोमबार संसदमा स्वास्थ्य क्षेत्रको बजेटको लामो फेहरिस्त सुनाए । बहुसंख्यक जनताले सेवा प्राप्त गर्न सक्ने गरी पायक स्थानमा आधारभूत अस्पताल निर्माण र सञ्चालनलाई प्राथमिकता दिने बताए । ३२२ स्थानीय तहमा निर्माण भइरहेका ५, १० र १५ शय्याका अस्पताल निर्माणका लागि ८ अर्ब छुट्याएको छ ।
यसमध्ये आगामी आवमा निर्माण सम्पन्न हुने १०० वटा अस्पतालमा उपकरण खरिद गर्न ८२ करोड छुट्याएको छ । आगामी आर्थिक वर्ष सरकारको सफलता मापन हुने ‘१०० आधारभूत अस्पताल’ सञ्चालन गर्न चाहिने स्वास्थ्य जनशक्तिबारे भने अर्थमन्त्री डा। महतले बजेटमा एकशब्द पनि खर्चिएका छैनन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २१ वटा आधारभूत अस्पताल निर्माणको अन्तिम चरणमा छन् । बजेट सुनिश्चित भएको अवस्थामा १०० अस्पतालको निर्माण सम्पन्न हुने मन्त्रालयका अधिकारीको दाबी छ ।
आगामी आर्थिक वर्षमा मात्रै आधारभूत अस्पताल निर्माणका लागि १५ अर्ब आवश्यकता पर्ने मन्त्रालयको अनुमान छ । तर सरकारले ८ अर्ब मात्रै छुट्याएको छ । यसका साथै आवश्यक जनशक्ति व्यवस्थापनबारे बजेटले केही नबोल्दा अस्पताल सञ्चालनमा भने आशंका रहेको मन्त्रालयका उच्च अधिकारीहरू बताउँछन् ।
Comments