Sajhamanch Archive

बिर्तामोडका मोवाइल व्यवसायीका समस्याहरु निराकरण गर्न प्रहरीसँग अन्तरक्रिया

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज by .

झापा । मोवाइल एशोसिएसन बिर्तामोडले आज बिर्तामोड क्षेत्रमा मोवाइल फोनको बिक्री वितरण तथा मरम्मत गर्ने व्यवसायीहरुलाई अभिमुखीकरण गरेको छ । आज बिर्तामोडमा एक दिवसीय अन्तरक्रिया कार्यक्रमको आयोजना गरी मोवाइल फोनको व्यवसायका अनेकन आयामहरुबारे वृहत छलफल गरिएको हो ।

मोवाइल एशोसिएसन बिर्तामोडका अध्यक्ष युवराज निरौलाको अध्यक्षतामा मोवाइल डिलर एशोसिएसन, कोशी प्रदेशका अध्यक्ष हरि उप्रेतीको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । उक्त अन्तरक्रियामा अध्यक्ष निरौला र प्रमुख अतिथि उप्रेतीले मोवाइल व्यवसायीका समस्याहरुको उठान गर्दै प्रहरीको तर्फबाट व्यवसायी जानेर वा नजानेर भएका गल्तीहरु कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा प्रकाश पारेका थिए ।

सरकारले एमडीएमएस प्रणाली पूर्णरुपमा कार्यान्वयन नगर्दा अझै पनि भारतबाट लुकाई छिपाई भन्सार छलेर मोवाइन फोन भित्रिने गरेको, अन्य देशहरुसमेतबाट अवैधरुपमा १० महिनामा नै ५५ लाख मोवाइल सेट भित्रिनुले राज्यलाई कर तिरेर कारोबार गरिरहेका व्यवसायी मारमा परेको अध्यक्ष निरौलाले तर्क गरेका थिए ।

सो अन्तरक्रिया कार्यक्रमका प्रमुख सहजकर्ता इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायव उपरिक्षक (डिएसपी) सुरज कार्कीले आफूले बिर्तामोडको कमाण्ड सम्हालेको चार महिनामा ७२ वटा मोवाइल हराएको वा चोरी भएको विवरण सुनाए । सो अवधिमा १६ थान मोवाइल भेटाएको, चोरीमा संलग्नहरु पक्राउ गरेको र ७ वटा मुद्दा चलिरहेको डिएसपी कार्कीले जानकारी दिए ।

मोवाइल व्यवसायमा पुरानो सेट किनबेच कानूनतः बन्देज गरिएको प्रष्ट पार्दै डिएसपी कार्कीले विश्वासयोग्य परिचित व्यक्तिसँगको कारोबार बारेमा प्रहरी प्रशासन रोहबर राखेमा केही सहज हुने बताए । यद्यपी, मोवाइल किनबेच गर्दा कारोबारीलाई पहिचान गर्न नसक्दा ठूलो चोरी डकैती हत्याजस्ता घटनासँग सम्बन्धित मालसामान भएमा किन्ने मानिस नै कानूनी दायरामा आउने प्रष्ट पारे ।

उक्त अन्तरक्रिया कार्यक्रममा दर्जनौं मोवाइल व्यवसायी तथा मर्मतकर्ताहरुले सहजकर्ता समक्ष आफूले भोगेका समस्याहरुका बारेमा अवगत गराएका थिए । सो कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुनकुमार मैनाली, अलैंची व्यवसायी महासंघका उपाध्यक्ष सुवास भट्टराई, कम्प्युटर एशोसिएसन नेपाल क्यान महासंघ झापाका अध्यक्ष कृष्णप्रसाद घिमिरेले समग्र व्यवसायिक क्षेत्रका समस्याहरु आपसी छलफल गरेर कार्यान्वयन गर्न सुझाव दिएका थिए ।

साझामञ्च डटकमका सम्पादक गोपाल काफ्लेले सञ्चालन गरेको सो अन्तरक्रिया कार्यक्रममा आमन्त्रित अतिथि एवम् सहभागीहरुलाई एशोसिएसनका सचिव सञ्जय साहाले शाब्दिक स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *