मापदण्ड विपरित शुद्धिकरणको डण्डा उचाले प्रेस चौतारी झापा चुप लागेर नबस्ने
Published:
by .झापा । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियानप्रति प्रेस चौतारी नेपाल झापा शाखाले स्वागत र सम्मान गर्दै शुद्धिकरण अभियान निष्पक्ष, स्वतन्त्र र तथ्य प्रमाणका आधारमा हुनुपर्ने माग गरेको छ ।
आज साँझ अध्यक्ष मनकुमार गदालले प्रेस विज्ञप्ति प्रकाशन गरेर सदस्यता शुद्धिकरण मापदण्ड २०७९ विपरित कुनै पनि सदस्यमाथि अन्याय गरेमा प्रेस चौतारी झापाले त्यसको सशक्त प्रतिकार गर्ने चेतावनी पनि दिएका छन् ।
अभियान सार्वजनिक भए लगत्तै प्रेस चौतारीको तर्फबाट शुद्धिकरणलाई सफल बनाउन अग्रसरता देखाएको सर्वविदितै छ भन्दै विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार महासंघको सदस्यता भजाएर पत्रकारिताको नाममा पेसाकै हुर्मत लिने कामहरु भइरहेका छन् । समग्र पेसाको बद्नाम गरिरहेको यथार्थलाई दृष्टिगत गरी सुरु गरिएको पत्रकार शुद्धिकरण अभियानप्रति हाम्रो सधैं साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दछौं ।’
विज्ञप्तिमा भनिएको छः
शुद्धिकरण अभियानमा सक्रिय पत्रकारिता गरिरहेका जो कोही पत्रकारप्रति पूर्वाग्रही बन्न हुदैन भन्ने हाम्रो स्पष्ट मान्यता छ । प्रेस चौतारी झापा, नेपाल पत्रकार महासंघले तय गरेको सदस्यता शुद्धिकरण मापदण्ड २०७९ अक्षरशः पालना हुनुपर्छ भन्ने मान्यतामा अडिग छ । मापदण्ड विपरित गरिएको शुद्धिकरण अस्वीकार्य हुने हाम्रो प्रष्ट धारणा छ । सदस्यता शुद्धिकरण मापदण्ड २०७९ विपरित हुनेगरी महासंघ झापा शाखाले नविकरण रोक्ने अनेकन प्रयास गरेको स्मरण गराउन चाहान्छौं । नविकरणका लागि कार्यालय पुग्नु भएका कतिपय सदस्यहरुलाई नविकरण नगरी फर्काइएको थियो । उक्त व्यवहारपछि प्रेस चौतारी झापाको दबाव र निरन्तर खबरदारी कै कारण शुद्धिकरणको बहानामा रोकिएका सबै सदस्यहरुको नविकरण गर्ने वातावरण बनेको सम्पूर्ण सदस्यहरुमा जानकारी गराउँदछौं ।
पत्रकार महासंघ झापालाई कुनै पनि बहानामा शुद्धिकरण अभियान रोक्ने छुट छैन । तत्काल शुद्धिकरण अभियान निष्पक्ष, स्वतन्त्र र तथ्य प्रमाणका आधारमा हुनुपर्दछ । शुद्धिकरण सम्पन्न गरी पत्रकार महासंघलाई विशुद्ध पत्रकारको संस्था बनाउन प्रेस चौतारी जोडदार माग गर्दछ । प्रेस चौतारीले शुद्धिकरणको मुद्दामा विगत देखि नै आवाज उठाउदै आएको हुँदा नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरण अभियानमा पूर्ण सहयोग रहने आश्वस्त पार्न चाहान्छौं ।
अन्त्यमा, यसअघि सदस्यताका लागि आवेदन दिने पत्रकारहरुको सदस्यता स्वीकृत वा अस्वीकृत के भयो ? भन्ने यथार्थ विवरणसमेत तत्काल सार्वजनिक गर्न आग्रह गर्दछौं । साथै, शुद्धिकरण मापदण्ड विपरित कुनै पनि सदस्यमाथि अन्याय गरेमा प्रेस चौतारी नेपाल झापा शाखा त्यसको सशक्त प्रतिकार गर्ने यसै विज्ञप्ति मार्फत सचेत गराउँदछौं ।
Comments