एनएमसी टी ब्राण्डमा सिटीसी चिया बजारमा आउँदै
Published:
by .झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को एनएमसी चिया ब्यवसायले सिटिसी चिया बजारमा ल्याएको छ । आफ्नै ब्राण्डमा प्याकेजिङ उद्योग सञ्चालन गरी संस्थाले ५०० ग्राम र २०० ग्रामको उपभोक्ता पाउच तथा ६ केजीको ब्यवसायिक झोला बजारमा ल्याएको हो ।
आज आइतबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी एनएमसी चिया उद्योगले एनएमसी टी ब्राण्डमा चियाको प्याकेट बजारमा ल्याएको हो । पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीसहित विभिन्न व्यवसायका प्रमुखहरुले एनएमसी ब्राण्डका चिया प्याकेट सार्वजनिक गरेका हुन् ।
२०५० सालमा स्थापना भएर एनएमसीले हाल पाँचवटा व्यवसाय सञ्चालन गरिरहेको छ । त्यसमध्ये कान्छो व्यवसाय एनएमसी चिया उद्योग २०७८ असारदेखि सुरु भएको हो । मेचीनगर-५ स्थित सुरेन्द्रनगरमा एनएमसीले पहिलो चिया उद्योग सञ्चालन गरेको हो । अहिले इलामको साँघुबेसी, सिद्धपोखरी र इलामेली चिया सहकारीसँग एकीकरण गरी सोही स्थानमा थप तीनवटा चिया उद्योग सञ्चालन गरिरहेको अध्यक्ष उप्रेतीले जनाएका छन् ।
एनएमसीले आफ्ना सदस्य किसानहरुद्वारा उत्पादित हरियो चिया पत्ती खरिद गरी आफ्नो उद्योगबाट प्रशोधन गर्दै आएको छ । आफ्ना चारवटा उद्योगका लागि आवश्यक पर्ने गुणस्तरीय चियाको हरियो पत्ती आफ्ना सदस्यहरुबाट नै आपूर्ति भइरहेको अध्यक्ष उप्रेतीले प्रष्ट पारेका छन् ।
नेपाली बगानमा उत्पादित उत्कृष्ट एवम् ताजा चियाको छनोट गरी विज्ञको परामर्श र रोहवरमा मिश्रण गरी उपभोक्ताको चाहना अनुसारको कडा तथा छिटो रङ आउने चियाका प्याकेट बजारमा ल्याइएको चिया विज्ञ कमल भारतीले बताए । उनले एनएमसी ब्राण्डका चियाको गुणस्तर राम्रो भएको दाबी गरे । चिया पारखीहरुको मागलाई पूरा गर्न सिटीसी चिया बजारमा ल्याइएको भारतीको भनाई थियो ।
संस्थाले ५०० ग्रामको पाउच एनएमसी सिटीसी चियाको उपभोक्ता मूल्य २६० रुपैयाँ र २०० ग्रामको पाउच सिटीसी चियाको उपभोक्ता मूल्य १३५ रुपैयाँ निर्धारण गरेको जनाइएको छ । विशेषगरी दूध चिया रुचाउनेहरुका लागि सिटीसी चिया नै चाहिने भएको भनी धेरै माग आएकाले एनएमसीले यसतर्फ हात हाल्नु परेको चिया विज्ञ भारतीको भनाई छ ।
एनमएमसीका अध्यक्ष उप्रेतीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष भगवती घिमिरेले शाब्दिक स्वागत गरेकी थिइन् । एनएमसी चिया व्यवसाय प्रमुख रविन्द्र पाण्डेले सहजीकरण गरेको पत्रकार सम्मेलनमा उठेका प्रश्नहरु माथि संस्थाका अध्यक्ष उप्रेती, चिया विज्ञ भारती र व्यवसाय प्रमुख पाण्डेले प्रष्ट पारेका थिए ।
Comments