बिर्तामोड नगर अस्पतालमा सेवा बिस्तार गरिँदै
Published:
by .बिर्तामोड । बिर्तामोड नगरपालिका अन्तरगत सञ्चालित नगर अस्पतालमा बालरोग विशेषज्ञ सेवा थप गरिएको छ । असार १ गते शुक्रबारदेखि अस्पतालले बालरोग विशेषज्ञ सेवा सुरु गरेको अस्पताल प्रशासनले जनाएको छ ।
सार्वजनिक विदाका दिन बाहेक हरेक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म बालरोगका विशेषज्ञबाट सेवा लिन सकिने अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. सुनिल अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार बालबालिका सम्बन्धी रोगहरु अब विशेषज्ञ डाक्टर रविन रेग्मीले जाँच गर्नेछन् ।
नगर अस्पतालमा २४सै घण्टा निःशुल्क नर्मल डेलिभरी (प्रसूती) सेवासमेत सुरु भएको छ । आज आइतबारदेखि डेलिभरी सेवा सुरु गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले जानकारी दिए । केही दिनपछि स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा पनि सुरु गर्ने उनले बताए ।
नगर अस्पतालमा सेवा थपिने क्रम बढ्दो छ । आवश्यक पूर्वाधार र सेवा विस्तार हुँदै गएपछि अस्पतालमा दैनिक ३५० जनाभन्दा धेरैले सेवा लिइरहेका छन् । अस्पतालमा डाइलोसिस सेवा र २४ सै घण्टा इमरजेन्सी सेवाको तयारीसमेत अन्तिम चरणमा पुगेको जनाइएको छ ।
अस्पतालमा हाल एमडीजिपी (मेसु) डा. अधिकारी र बालरोग विशेषज्ञ डाक्टर रेग्मी गरी २ जना विशेषज्ञ डाक्टरहरु, ३ जना मेडिकल अधिकृत, ल्याव टेक्नोलोजिष्ट, एसबिए तालिम प्राप्त नर्स सहित ३६ जनाले सेवा दिइरहेका छन् ।
अस्पतालमा सहुलियत दरमा एक्स–रे, भिडियो एक्स–रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधिसहितको प्रयोगशाला ल्याव, बच्चाहरुको नियमित खोप लगायतका सेवाहरु पनि उपलब्ध छन् । निकट भविष्यमा नै रेबिजको भ्याक्सिन र थाइराइट टेस्टसमेत हुने जनाइएको छ ।
नगर अस्पताललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन अर्को भवनसमेत निर्माणधिन अवस्थामा छ । अस्पताल सुविधा सम्पन्न भएपछि सर्वसाधारणले निजी अस्पतालहरुमा महंगो मूल्यमा चेक जाँच तथा उपचार गराउनु पर्ने बाध्यता हट्ने जनाइएको छ ।
Comments