ओलीलाई वामदेवका लिखित एजेन्डा– खेतमा तीन बाली फलाउनुपर्ने, चोर्न ढाँट्न नहुने
Published: (Updated: )
by .काठमाडौं । वामदेव गौतम दिक्क छन् । उनले सुनाएअनुसार केपी ओली ठान्छन्– नेकपा फुटाउने एक नम्बर व्यक्ति वामदेव हो । प्रचण्ड र माधव नेपाल ठान्छन्– वामदेवले उक्साएपछि नेकपा फुटेको हो ।
च्यासलमा एमाले अध्यक्ष केपी ओलीलाई आइतबार भेटेर छोराछोरी र नातिनातिनासँग चितवन डुल्न हिँडेका गौतमले अनलाइनखबरसँग विस्मात् मान्दै सुनाए, ‘म नेकपा एकता अभियानको संयोजक हुँ । मेरो मुख्य काम हिजोको नेकपालाई एक ठाउँमा ल्याउने हो । तै पनि उहाँहरु तीनै जना नेताहरुलाई पार्टी मैले गर्दा फुटेको हो भन्ने लाग्छ त म के गरुँ रु’
वामदेवलाई लाग्छ– उनले जानीजानी पार्टी फुटाएको ०५४ मा हो, यसपालि होइन । यसपालि पार्टी फुटाउने व्यक्तिहरु ती हुन्, जो बाहिर गए, अनि जो भित्र रहे । ‘म पार्टी फुटाउन यसपल्ट लागेको होइन । पहिला चैं मैले फुटाएको हो । तपाईं के बुझ्नुस् भने पार्टी फुट्नुमा फुटेर जानेमात्रै होइन, पार्टीमा बस्नेहरु पनि दोषी हुन्छन् ।’
वामदेव सधैं ऊर्जावान्, वामदेव सधैं आशावादी । हिजोआज भने उनलाई असीमित फुर्सद मिलेको छ, जसको व्यवस्थापन गर्न सहज भइरहेको छैन । एमालेले ७० वर्षे उमेरहद हटाइदिएपछि भने उनी फुरुक्क छन् । उनलाई यो निर्णय अध्यक्ष ओलीका लागि भन्दा पनि आफ्ना लागि नै बढ्ता गरिएजस्तो लाग्छ ।
उनलाई भित्रैबाट लागेको छ– ‘म एमालेमा प्रवेश गरेपछि नेकपा एकता राष्ट्रिय अभियान पनि एमालेमा प्रवेश गर्छ । बिस्तारै सबै पक्षहरु एमालेमा आउनेछन् । नेकपा एकता अभियानको चक्र पूरा हुनेछ ।’
आइतबार उनले अनलाइनखबरसँग यो बताउँदै गर्दा विगतको नेकपामा दोस्रो बरियताको अध्यक्ष रहेका प्रधानमन्त्री प्रचण्ड र हाल नेकपा एकीकृत समाजवादी अध्यक्ष रहेका माधव नेपालसहित चार दलको समाजवादी मोर्चाले आफ्नो १५ बुँदे प्रतिबद्धतापत्रलाई अन्तिम रुप दिएको छ । सोमबार त्यसलाई सार्वजनिक गर्ने योजना छ । सुरुवाती चर्चामा आएका वामदेव यो मोर्चामा छुट्ने करिब निश्चित भएको छ । कतिपय भने अन्तिम घडीमा वामदेव समाजवादी मोर्चामै आउने दाबी गर्न छाडेका छैनन् । वामदेव आफैं भने मोर्चाको औपचारिक घोषणाअघि एमालेमा दोस्रो बरियता सुनिश्चित गर्न चाहन्छन्, जहाँ अहिले ईश्वर पोखरेल छन् ।
वामदेवलाई पो हतार छ, एमालेलाई छैन । यो आजको दिनमा वामदेव गौतमको पार्टी होइन । त्यसैले ओलीलाई भेट्न जाँदा उनले आफ्नो बरियता मागलाई सैद्धान्तिक लेपसहित सत्रपाने दस्तावेज तयार पारे । यसको नामै तीव्र महत्वाकांक्षी छ । उनले यसलाई ‘नेपाली विशेषताको समाजवाद निर्माण सम्बन्धी प्रारम्भिक अवधारणा’ नाम दिएका छन् । कतिपय चाहनाहरु तिलस्मी पनि छन् । (दस्तावेजको पूर्णपाठ यसै रिपोर्टको अन्तिममा समावेश छ) ।
त्यस दस्तावेजमा उनले कृषिक्रान्ति, कृषिको औद्योगिकीकरण, देशको विद्युतीकरणदेखि जुवातास बन्द गर्ने, आगामी १० वर्षमा नेपालबाट बेरोजगारी समाप्त गर्ने, नागरिकले सरकारका सबै निर्देशन टेर्नुपर्ने, हरेक व्यक्तिले बिहान १ घन्टा, बेलुका १ घन्टा अनिवार्य व्यायाम गर्नुपर्ने, चोरी ठगी गर्न नहुने, ढाँट्न नपाइने लगायत एजेन्डा अघि सारेका छन् ।
तीन बाली फलाउन सकिनेगरी खेतबारीको प्रयोग गर्ने, चीन र इजरायलमा विकास गरेको खेती प्रणाली नेपालमा आयात गर्नुपर्ने सिफारिस छ । रोचक छ वामदेव गौतमको समाजवादी मस्यौदा, जसलाई ओलीले रुचि मानेर पढिरहेको, अनि नेताहरु विष्णु पौडेल र प्रदीप ज्ञवाली मुसुमुसु हाँसिरहेको तस्वीर देख्न सकिन्छ ।
‘म कुर्सीमा बसेर सलाम खान आउने होइन, बिहानदेखि रातिसम्म नखाई–नसुती काम गर्न आउने हो भनेको छु अध्यक्षलाई,’ उनलाई उद्धृत गर्दै एक नेताले अनलाइनखबरसँग भने, ‘मलाई जिम्मेवारी दिएर त हेर्नुहोस् ।’
स्रोतका अनुसार एकघन्टे च्यासल बसाइमा हाँसो ठट्टा राम्रै चले पनि वामदेव र ओलीको सम्बन्धमा हार्दिकता भने विकसित भएको देखिएन । यद्यपि वामदेवसँग विकल्प सकिँदै गएका कारण उनी एमालेमा आउने पक्काजस्तै रहेको ती नेताले सुनाए ।
वामदेव केही न केही सोचिरहन्छन् । चुप लागेर बस्ने बानी छैन । नजिकका नेताहरु भन्छन्, ‘जतिसुकै हन्डर बेहोरे पनि वामदेव थाक्दैनन् । उनका आँखामा जहिल्यै सपना छन् ।’
ओलीले भने– म एक्लैले प्रवेश गराउन सक्दिनँ । साथीहरुसँग कुरा गर्छु, सचिवालयमा राख्छु ।
Comments