लुक्लामा एकै दिन ४१२ वटा उडान, ४७८ आरोहीले गरे सगरमाथाको सफल आरोहण
Published:
by .काठमाडौं । वसन्तकालीन मौसममा हिमाल आरोही र पदयात्री बोक्न वायुसेवा कम्पनीलाई भ्याइनभ्याई भएको छ । आरोहण र ट्रेकिङको मौसममा लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दिनमै चार सयभन्दा बढीसम्म ‘फ्लाइट मुभमेन्ट’ भएका हुन् ।
आरोही र पदयात्री बढेपछि लुक्लामा हवाईजहाज र हेलिकोप्टरबाट दिनमै ४१२ पटकसम्म उडान–अवतरण भएको विमानस्थल प्रमुख महेश श्रेष्ठले बताए । २ मे २०२३ मा लुक्लामा ‘फ्लाइट मुभमेन्ट’ ४०० कटेको उनको भनाइ छ । जसमध्ये हवाईजहाजबाट ३९ र हेलिकोप्टरबाट ३७३ उडान–अवतरण भएको थियो ।
पर्यटकीय मौसममा लुक्ला विमानस्थल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)पछि सबैभन्दा धेरै व्यस्त रहन्छ । सिजनमा उडान संख्याका हिसाबले पनि टिआइएपछि लुक्लामै धेरै ‘फ्लाइट मुभमेन्ट’ हुन्छ । हिमाल आरोहणका लागि उपयुक्त सिजन मानिने यस वर्षको अप्रिल र मे महिनामा हिमाली भेगमा आरोही र पदयात्री खचाखच थिए ।
सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, नुप्त्से हिमाल आरोही, पथप्रदर्शक (गाइड) र खुम्बु क्षेत्रमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिन लुक्ला विमानस्थल सिजनभरि नै व्यस्त बनेको हो । सन् १९७१ देखि सञ्चालनमा रहेको लुक्ला विमानस्थल देशकै सबैभन्दा व्यस्त ‘स्टल’ विमानस्थल हो ।
वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि इतिहासकै सबैभन्दा धेरै ४७८ आरोहीले अनुमति लिएका थिए । आरोही र गाइड गरी करिब ६०० ले सगरमाथाको शिखर चुमेको पर्यटन विभागले जनाएको छ । खुम्बु क्षेत्रमा पदयात्रामा जाने पर्यटकको संख्या पनि ऐतिहासिक नै रह्यो ।
लुक्लामै केन्द्रित वायुसेवा
सगरमाथा आरोहण तथा खुम्बु पदयात्राका लागि वसन्त ऋतु सबैभन्दा उत्तम सिजन हो । यो समय पर्यटक बोक्न स्टल उडान गर्ने जहाज र हेलिकोप्टर कम्पनी सगरमाथा क्षेत्रमै केन्द्रित हुने गर्छन् । लुक्ला सगरमाथाको प्रवेशद्वार हो, जहाँबाट पदयात्रा सुरु हुन्छ । अप्रिल र मे महिनामा लुक्ला विमानस्थलमा कुल ६ हजार ६९३ उडान–अवतरण भएका छन्, जसमध्ये एक हजार ४७४ हवाईजहाज र पाँच हजार २२० हेलिकोप्टरका हुन् ।
लुक्ला विमानस्थलमा हवाईजहाजको भन्दा हेलिकोप्टरको ‘फ्लाइट मुभमेन्ट’ बढी हुने गर्छ । हेलिकोप्टरले लुक्लामा झरेका पर्यटकलाई नाम्चे, कोङ्दे, गोक्यो लेक, एभरेस्ट बेसक्याम्प, कालापत्थरलगायत ठाउँमा घुमाउने गर्छन् । यस्तै, आरोहण र पदयात्राका क्रममा बिरामी वा अलपत्र हुने पर्यटकलाई हेलिकोप्टरले ‘रेस्क्यु’ पनि गर्ने गर्छन् । छोटो दूरीमा उडान गर्ने हुँदा जहाजको तुलनामा हेलिकोप्टरको ‘फ्लाइट मुभमेन्ट’ धेरै हुने गरेको श्रेष्ठको भनाइ छ । हवाईजहाजले काठमाडौं र रामेछापबाट लुक्ला उडान गर्छन् । काठमाडौंको त्रिभुवन विमानस्थल अत्यन्तै व्यस्त भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले लुक्लाका फ्लाइट रामेछाप–मन्थली विमानस्थलबाट गर्ने व्यवस्था गरेको छ ।
अप्रिल र मे महिनामा जहाज र हेलिकोप्टरले ४७ हजार ८०० यात्रुलाई बोकेको लुक्ला विमानस्थल कार्यालयको तथ्यांक छ । जसमध्ये १७ हजार यात्रु लुक्लामा अवतरण गरे भने २६ हजार ६५४ यात्रुहरू लुक्लाबाट रामेछाप, काठमाडौंसहित सगरमाथा क्षेत्रका विभिन्न ठाउँतर्फ उडेका हुन् । यो तथ्यांकमा जहाजबाट लुक्लामा उडान–अवतरण गरेका यात्रुहरू र हेलिकोप्टरबाट अवतरण मात्रै गरेका यात्रु समेटिएका छन् । विभिन्न ठाउँबाट हेलिकोप्टर चढेर लुक्लामा झर्ने यात्रुहरूको संख्या त्यति जानकारीमा नआउने गरेको विमानस्थल प्रमुख श्रेष्ठले बताए ।
अप्रिलमा हवाईजहाजबाट ४९ हजार १८१ केजी कार्गो लुक्ला झारेको छ भने ९४ हजार ६३ केजी सामान लुक्लाबाट बाहिरिएको छ । यस्तै, मेमा एक लाख ७८ हजार ११९ केजी कार्गो लुक्लामा ढुवानी भएको र ७७ हजार ८६५ केजी कार्गो लुक्लाबाट बाहिरिएको विमानस्थल कार्यालयले जनाएको छ । यो तथ्यांकमा हेलिकोप्टरले बोकेको कार्गो समेटिएको छैन ।
सगरमाथा आरोहीको संख्यामा पनि कीर्तिमान
यस वर्षको वसन्त ऋतुमा इतिहासकै सबैभन्दा धेरै ४७८ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए । आरोही र गाइड गरी करिब ६०० ले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागको अनुमान छ । यस सिजनमा भारतीय र नेपाली पदयात्रीहरूको सगरमाथा क्षेत्रमा भिड नै लागेको श्रेष्ठको भनाइ छ । यतिसम्म कि, बाटोमा यात्री र खच्चडलाई पन्छाउँदै हिँड्नुपर्ने अवस्था आएको थियो ।
धेरै उडान भएका दिन
वसन्तकालीन सिजनका लागि लुक्लामा सबैभन्दा धेरै उडान–अवतरण २ मेका दिन ४१२ पटक भयो । ३ अप्रिलमा एकै दिन हेलिकोप्टरका ३१६ र जहाजका ५४ गरी कुल ३७० फ्लाइट भएका थिए । २ अप्रिलमा जहाजका ४४ र हेलिकोप्टरका २०८ गरी दुई सय ५२ फ्लाइट मुभमेन्ट भए भने ४ अप्रिलमा जहाजका ३५ र हेलिकोप्टरका २५६ गरी २९१ उडान–अवतरण भएका छन् ।
‘सिजनमा लुक्लामा फ्लाइट ३०० क्रस भइहाल्छन्,’ विमानस्थल प्रमुख श्रेष्ठले भने, ‘यसपटक लुक्लामा कोभिड पछिकै सबैभन्दा धेरै फ्लाइट भएका छन् ।’
लुक्ला विमानस्थलमा एकपटकमा चारवटा जहाज पार्किङ गर्न मिल्छ । हेलिकोप्टरका लागि छुट्टै हेलिपोर्ट छ । ‘जहाज एउटा उड्छ, अर्को आउँछ, एकैचोटि ६–७ वटा नआउने हुँदा व्यवस्थापनमा खास समस्या हुँदैन,’ उनले थपे, ‘हेलिकोप्टरका सर्ट रुट हुन्छन् । लुक्लाबाट नाम्चे पुगेर फर्किने पनि हुन्छन् ।’
कतिपय हेलिकोप्टरका फ्लाइट काठमाडौंबाट हुन्छन् । सगरमाथा क्षेत्रमा उडान गर्ने सबै हेलिकोप्टरले लुक्ला विमानस्थललाई आधार बनाउँछन् । उनले भने, ‘तेल भर्न होस् वा लोड पेनाल्टी मिलाउन, लुक्ला अवतरण नगरी सुखै छैन ।’ अहिले स्टल उडान तारा, समिट, नेपाल एयरलाइन्स, सीता एयरले मात्रै गर्दै आइरहेका छन् ।
जहाज अत्यन्तै कम र यात्रु धेरै हुने हुनाले सबैले हवाईजहाजको टिकट नपाउने अवस्था छ । जहाजमा टिकट नपाउने आरोही पदयात्री बसमा सल्लेरीसम्म पुगेर त्यहीँबाट यात्रा सुरु गर्छन् । पछिल्लो समय सल्लेरीसम्म सडक पुगेपछि प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारी हिँडेको पुरानो ट्रेकिङ रुट जिरी–लुक्ला सुनसान बनेको छ । यो सिजनमा मौसमले समस्या नपारेको र दुर्घटना पनि त्यति नभएको बताइन्छ ।
नयाँपत्रिकामा नविन अर्याल
Comments