Sajhamanch Archive

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ जहाज अवतरण

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by .

काठमाडौँ । व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडानको अवतरण भएको छ।

चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाजले चार्टर्ड उडानमार्फत बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

जहाजमा नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी र चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहितको नेपाली प्रतिनिधिमण्डल समेत छ।

पोखराको फेवातालमा यही असार ८ र ९ गते (२३–२४ जुन २०२३) मा फेस्टिभल हुँदैछ। नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनीयाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो। पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएसनले सहआयोजना गरेको फेस्टिभललाई होटल सङ्घ नेपाल (हान) र नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा)लेसमेत सहयोग गरेका छन् ।

यो जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्किने छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *