सुर्तीजन्य पदार्थको बिक्री र सेवन रोक्दै विराटनगर महानगर
Published:
by .मोरङ । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्री वितरणमा विराटनगर महानगरपालिकाले कडाइका साथ अघि बढ्ने भएको छ।
विराटनगरमा बुधबार धुम्रपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी अन्तरक्रियामा महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले यस्तो बताएकी हुन्।
विराटनगर ७ नम्बर वडा, हेल्थ आवज र आउटरिच मिडियाले आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले महानगरपालिकाले साउन १ गतेदेखि सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र बिक्री वितरण कार्यलाई बन्देज गर्दै कडाइका साथ अनुगमन गर्ने बताइन्।
महानगरले वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्तीजन्य वस्तु सेवन र बिक्रीलाई निषेध गर्ने निर्णय गरेको थियो।
महानगरपालिकाले यसलाई अभियानकै रुपमा अघि बढाएको थियो। यस अभियानलाई थप कडाइका साथ साउन १ गतेदेखि महानगरभित्र कडाइका साथ लागू गर्ने उपप्रमुख कार्कीले बताइन्।
‘स्थानीय सरकारको हैसियतबाट मदिरा, धुम्रपान र सुर्ती सेवनबाट हुने हानी नोक्सानीबारेमा घर घर पुगेर जनचेतना जगाउने अभियान गरिरहेका छौं।’ साउन १ गतेबाट कडाइको साथ सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न नदिने र अटेर गर्नेलाई कानुन बमोजिम कारबाहीको दायरामा ल्याउने उनले बताइन्।
कोशी अस्पतालका दन्त रोग विशेषज्ञ डाक्टर सुधिर श्रेष्ठले सुर्तीजन्य पदार्थको सेवनको कारण मुखको क्यान्सरका बिरामीको संख्या दिनुहुँ बढ्दो रहेको बताए। धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोगका कारण मुखको क्यान्सरका बिरामीको संख्या बढ््दौ रहेको बताउँदै, डाक्टर श्रेष्ठले भने, ‘अस्पतालको ओपिडीमा मुखको जटिल प्रकारको समस्या लिएर दैनिक ५र६ जना आउने गरेका छन्। उनीहरुमध्ये अधिकांश सुर्ती सेवनबाट मुखमा समस्या आएको भेटिएको छ।’
शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्रलगायतका सार्वजनिक स्थलबाट कम्तीमा १ सय मिटरभित्र वरपर सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाउने व्यवस्था छ।
अनुगमन र काराबाही प्रक्रिया फितलो हुँदा महानगर क्षेत्रभित्रै खुलेआम सुर्तीजन्य पदार्थको बिक्री वितरण भइरहेको पाइन्छ।
Comments