Sajhamanch Archive

द्रोणाचार्यको ३०औं स्मृतिसभामा पत्रकार पोखरेल पुरस्कृत

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

मेचीनगर । झापाको कम्युनिष्ट आन्दोलनका एक सशक्त जनपक्षीय नेता तथा पूर्व सांसद स्वर्गीय द्रोणप्रसाद आचार्यको ३०औं स्मृति दिवस मनाइएको छ । झापाली माटोका सुगन्ध, जनताका प्रिय नेता द्रोणाचार्य क्षेत्रीको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले असार ६ गते काँकरभिट्टामा उनको स्मृति सभा गरेको हो ।

द्रोणाचार्य क्षेत्री स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री, नेपाली कांग्रेसका नेता एवम् २०४३ सालमा स्वर्गीय द्रोणसँगै झापाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा विजयी बनेका केशवकुमार बुढाथोकीले द्रोणका आनीबानीहरु सुनाए ।

कार्यक्रमको प्रमुख अतिथि रहेका बुढाथोकीले सम्झे, ‘द्रोणजी राजनीतिक घेराभन्दा माथि उठेर समाजका हरेक पक्षका मानिसहरुका साथी हुनुहुन्थ्यो । गरिबी, विपन्नता र भोकमरीले छट्पटाइरहेका जनताको चुल्हो बाल्न खाद्यान्न जुटाउनको लागि सधैं प्रयासरत हुनुभयो ।’

‘म सम्पन्न परिवारको छोरो, उहाँ गरिबी झेलिरहेको मान्छे तर पनि कुनै लोभ लालच नगरी हामीले आफ्नो कार्यकाल बिताएका थियौं । बरु हामीले पाउने सुविधाको रकमबाट डेढ–डेढ लाख रुपैयाँ भद्रपुरको मेची क्याम्पसस्थित विज्ञान भवन बनाउन सहयोग गरेका थियौं’ कांग्रेस नेता बुढाथोकीले स्मरण गरे ।

द्रोणाचार्य स्मृति प्रतिष्ठान नेपालको आयोजनामा अध्यक्ष रविन कोइरालाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष चन्द्रमणि पौडेल र प्रतिष्ठान स्थापनामा व्यवहारिक जिम्मेवारी सम्हालेका भद्रपुरका बिनोद पोखरलेललाई सम्मान गरिएको थियो ।

सो कार्यक्रममा प्रेस चौतारी झापाले स्थापना गरेको द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कार पहिलोपटक प्रतिष्ठानसँगको समन्वयमा वितरण सुरु गरिएको थियो । यसै पटकदेखि पुरस्कार राशी वृद्धि गरी ५१ हजार रुपैयाँ बनाइएको द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कारबाट गणेश पोखरेल पुरस्कृत भएका हुन् ।

उनलाई कार्यक्रमका अध्यक्ष कोइराला, प्रमुख अतिथि बुढाथोकी, एमाले प्रदेश कमिटीका सदस्य तथा प्रदेशसभाका पूर्वसदस्य श्रीप्रसाद मैनालीलगायतले पुरस्कार वापतको चेक, सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओडाएका थिए ।

द्रोणाचार्य क्षेत्री स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत पोखरेल प्रेस काउन्सिल नेपालका सदस्य, प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्य, रेडियो भिजनका प्रबन्ध निर्देशक एवम् मेची आँखा अस्पतालका सचिव, नेपाल परिवार नियोजन संघ झापाका सचिव लगायत विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील छन् ।

उक्त कार्यक्रममा प्रदेशसभाका पूर्वसदस्य बसन्त बानियाँ, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगरपालिकाका पूर्वप्रमुख तथा प्रतिष्ठानका महासचिव जीवनकुमार श्रेष्ठ, स्वर्गीय द्रोणका कान्छा छोरा देवेन्द्र आचार्य, धुलाबारी क्याम्पसका प्रमुख पुष्प पौडेललगायतले द्रोणका आनीबानीहरुको स्मरण गर्दै प्रतिष्ठानले अब गर्नुपर्ने कामका विषयमा सल्लाह दिएका थिए ।

कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सदस्य सन्तोष आचार्यले गरेका थिए भने आमन्त्रित अतिथिहरुलाई प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालले शाब्दिक स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *