Sajhamanch Archive

मेचीनगरका विद्यालयमा अध्यायनसंगै शुद्ध खानेपानी

Published: in लोकप्रिय, शिक्षा, समाज, स्थानीय तह, स्वास्थ्य by .

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाका विद्यालयलाई शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट वितरण गरिएको छ ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको पहलमा मेचीनगरका ६ वटा माध्यमिक विद्यालयलाई बुधबार स्वच्छ खानेपानीको लागि फिल्टर प्लान्ट वितरण गरिएको हो ।

इन्भारमेन्ट प्रोटेक्सन सेन्टर नेपाल (इपिसी)को प्राविधिक सहयोगमा करिब ७ लाख मूल्य पर्ने एक हजार लिटर क्षमताको अत्याधुनिक फिल्टर आदर्श मावि इटाभट्टा, धुलाबारी मावि धुलाबारी, बालसुबोधोनी मावि दुहागढी, शहिद दशरथचन्द मावि चारआली, कवि शिरोमणि मावि खुट्टेडाँगी र इष्ट होराइजन अंग्रेजी मावि धुलाबारीलाई वितरण गरिएको छ ।

फिल्टर प्लान्ट वितरण गर्दै नगरप्रमुख बुढाथोकीले पानी मानिसको अति आवश्यक तत्व भएकाले फिल्टर प्लान्ट सञ्चालन भएसंगै अब विद्यालयमा अध्यायन गर्ने विद्यार्थीहरूलाई शुद्ध पानी पिउन सहज हुने बताए । उनले अहिले पहिलो चरणमा नगरका ६ वटा विद्यालयमा शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट जडान गरिएको जनाउँदै अन्य विद्यालयमा पनि यसले निरन्तरता पाउने बताए ।

आदर्श मावि परिसरमा आयोजना गरिएको कार्यक्रममा उपप्रमुख मीना पोख्रेल उप्रेती, मेचीनगर शिक्षा शाखा प्रमुख होम भण्डारी लगायतले सम्बन्धि विद्यालयका प्रअ तथा व्यवस्थापन समिति अध्यक्षलाई फिल्टर वितरण गरेका हुन् ।

यसअघि नगरको विभिन्न वडामा इपिसीले सुधारिएको चुलो वितरण गरिएको बताउँदै झापा प्रतिनिधि अमर मेचेले अहिले विद्यालयमा शुद्ध खानेपानीका लागि फिल्टर प्लान्ट उपलब्ध गराइएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *