Sajhamanch Archive

‘बोल्ड डिसिजन’ गर्दै मेचीनगर नगरप्रमुख बुढाथोकी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई मेचीनगर क्षेत्रमा रहेको जग्गा तत्काल उपलब्ध गराउन पुनः ताकेता गरेका छन् ।

सम्झौता भए अनुसारको बिक्री गर्नुपर्ने जग्गा बिक्री र सार्वजनिक प्रयोजनका जग्गाहरु निःशुल्क रुपमा तत्काल उपलब्ध गराउन असार ४ गतेको मितिमा राष्ट्रिय आवास कम्पनी लिमिटेडलाई नगरप्रमुख बुढाथोकीले पत्रचार गरेका हुन् ।

लामो समयदेखि राष्ट्रिय आवास कम्पनी लिमिटेडले विभिन्न बहानामा जग्गा उपलब्ध गराउन आलटाल गर्दै आएको छ । तर, अब त्यस्तो आलटाल नगरपालिकालाई सह्य नहुने भन्दै नगरप्रमुख बुढाथोकीले पत्रमा चेतावनी दिएका छन् । कम्पनीले २०४९ सालमा तत्कालिन काँकरभिट्टा गाविस हाल मेचीनगर वडा नं. ६ स्थित ६० विगाहा जग्गा तत्कालिन सरकारको निर्णय बमोजिम व्यवस्थित बसोबासका लागि अख्तियार प्राप्त गरेको थियो ।

बिक्री गर्न मिल्नेजति जग्गा बिक्री गर्ने र सार्वजनिक प्रयोजनका जग्गाहरु बसपार्क, देवकोटा पार्क, क्याम्पस, विद्यालयको, खेलमैदान, खानेपानी, मिनी मार्केट, वडा कार्यालय परिसर, विपी पुष्पलाल तथा सहिद स्मृति वाटिका, मठ मन्दिर लगायतका जग्गाहरु निःशुल्क हस्तान्तरण गर्नुपर्ने निर्णय थियो ।

तर विगत ३२ वर्षदेखि कम्पनीले आलटाल गर्दै आइरहेको कारण अझैसम्म पनि केही जमिनमा बसोबास रहेकालाई पूर्जा वितरण हुन नसकेको नगरप्रमुख बुढाथोकीको भनाई छ ।

राष्ट्रिय आवास कम्पनी लिमिटेडले सार्वजनिक उपयोगको जमिनहरु हस्तान्तरण नगर्दा अहिले भौतिक पूर्वाधार निर्माणमा समस्या भएको नगरप्रमुख बुढाथोकी बताउँछन् । आफूले चालू आर्थिक वर्षमा मात्रै ६ पटक भेटवार्ता र छलफल गरी वैशाख मसान्तसम्ममा नै निर्णय गर्ने र हस्तान्तरण गर्ने छलफलको सहमति भएकोमा अहिले निर्णय नगर्ने जवाफ पाए पछि नगरपालिका आक्रोशित बन्नु परेको जनाइएको छ ।

तीन दशक अघिदेखि मेचीनगरले व्यहोरिरहेको यस्तो प्रवृतिको अन्त्य गर्दै तत्कालै, यही असार मसान्तसम्म निर्णयगरी जग्गा हस्तान्तरण गर्न नगरपालिकाले ताकेता गर्दै पत्र पठाएको उनले जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *