Sajhamanch Archive

बिर्तामोड नगरपालिकाः कस्तो बजेट, कति बजेट

Published: in अर्थतन्त्र, मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि १ अर्ब ४० करोड ९५ लाख ५० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको दोस्रो नगरसभाको तेश्रो नगर अधिवेसन अन्तर्गतको प्रथम बैठकमा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् ।

उक्त बजेटमध्ये आयतर्फ संघीय समानीकरण अनुदानबाट २० करोड ३६ लाख, संघीय सरकार राजश्व बाडफाँडबाट १३ करोड १६ लाख ९२ हजार, प्रदेश समानीकरण अनुदानबाट १ करोड ३४ लाख ४ हजार, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड १९ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

यसैगरी नगरपालिकाको आन्तरिक आय र मालपोत रजिष्ट्रेशन शुल्कसमेतबाट ३२ करोड, संघीय सशर्त अनुदान चालूतर्फ २९ करोड ६ लाख तथा पुँजीगततर्फ ३६ करोड ७६ लाख हुने प्रक्षेपण गरिएको छ । बिर्तामोड नगरपालिकाका लागि संघीय विशेष अनुदान २ करोड र समपुरक अनुदान ६५ लाख तथा प्रदेश सशर्त अनुदान ६२ लाख २५ हजार, समपूरक अनुदान १ करोड २९ लाख ५१ हजार रुपैयाँ प्राप्त हुने नगर उपप्रमुख संग्रौलाले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।

नगरपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० को लागि कूल १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४९० रुपैयाँ (सामाजिक सुरक्षाको बजेट समेत)को बजेट ल्याएको थियो । संघ तथा प्रदेशबाट प्राप्त हुने सशर्त बजेट, समपूरक अनुदान र विशेष अनुदानका योजना तथा कार्यक्रमहरु र सशर्तमा तोकिएका योजना तथा कार्यक्रममा बजेट खर्च हुने जनाइएको छ ।

नगरपालिकाले कृषि क्षेत्रमा १ करोड, पशुपन्छी तथा मत्स्य विकासमा ७५ लाख, शिक्षा क्षेत्रमा २ करोड ५० लाख, स्वास्थ्य क्षेत्र नगर अस्पताल तथा विपन्न नागरिकहरुको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन समेतमा ३ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।

यस्तै मर्मत सम्भार कोष र सडक सुधारमा २ करोड, महिला, बालबालिका, अपाङ्ग ज्येष्ठ नागरिक, दलित, मधेशी, जनजाति, अदिवासी समेतलाई लक्षित कार्यक्रममा १ करोड, लघुउद्यम विकास, सहकारी युवा तथा खेलकुद कार्यक्रममा ७० लाख खर्च गर्नेगरी बजेट छुट्याइएको छ ।

फोहोरमैला व्यवस्थापन तथा विपद व्यवस्थापनमा २ करोड ५० लाख, देवीहाट बुधाबारे बजारमा बहुतले व्यवसायिक भवन निर्माण, नगरको प्रशासनिक भवन निर्माण तथा अन्य पूर्वाधार निर्माणमा साझेदारी गर्न समपूरक कोषमा ५ करोड ५० लाख खर्च हुने आंकलन गरिएको छ ।

लोक कल्याणकारी सूचना सन्देश विज्ञापन र सचेतनामुलक कार्यक्रमहरुमा ५० लाख, नगरस्तरीय नगर गौरव योजना, वडास्तरीय योजना तथा बहुवर्षे क्रमागत योजना समेतमा २२ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

नगरपालिकाले व्यवसायीहरुलाई व्यवसाय करको दायरा भित्र ल्याउन आन्तरिक राजश्व कार्यालयमा दर्ता भई बिर्तामोड नगरपालिकामा व्यवसाय दर्ता नभएका र दर्ता भई नवीकरण हुन बाँकी रहेका उद्योग/फर्म/कम्पनीलाई अवसर प्रदान गरेको छ ।

त्यस्ता फर्महरुले ३ वर्ष वा सोभन्दा माथिको वक्यौता कर तिर्नुपर्ने रहेछ भने ३ वर्षसम्मको हकमा १ वर्षको कर र ३ वर्ष माथिको बक्यौता हुनेको हकमा २ वर्षको कर लिई आव २०८०/८१ को श्रावणदेखि कार्तिक महिनासम्मका लागि एकपटक दर्ताका लागि समय उपलब्ध गराउने जनाएको छ । उक्त अवधिमा समेत दर्तामा नआउने फर्म/कम्पनीलाई बुझाउनु पर्ने सम्पूर्ण करको अतिरिक्त शतप्रतिशत जरिवाना गरी असुलउपर गरिने नगरपालिकाको बजेटमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *