दमकमा असार १४ गते रोजगार मेलाको आयोजना गरिने
Published: (Updated: )
by .दमक । दमक उद्योग वाणिज्य संघले असार १४ गते दमकमा आयोजना गरेको रोजगार मेलाको तयारी तीव्ररुपमा भइरहेको जनाएको छ ।
संघले आज पत्रकार सम्मेलन गरी वृत्ती परामर्श तथा रोजगार मेलाको तयारीको विषयमा जानकारी दिएको हो । मेलामा तालिम प्रदायक संस्था, पर्यटन, चिया बगान, बैकिङ, होटल ब्यवसाय लगायतका २१ वटा संस्था, कम्पनी, उद्योगको स्टल रहने जनाइएको छ ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले दिएको जानकारी अनुसार मेलामा विद्यार्थीहरु तथा युवाले वृत्ती परामर्श सेवा तथा जानकारी पाउनेछन् । मेलामा सीपमुलक तालिम दिने संस्थाहरुको प्रदर्शनी, तालिमको जानकारी दिइने, रोजगार सम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष भेटघाट गराईनेछ ।
दमक नगरपालिकाको आर्थिक सहयोगमा वाणिज्य संघले आयोजना गर्ने परामर्श तथा रोजगार मेला दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा हुनेछ । सो मेलामा ५ हजारजना सहभागी हुने संघका अध्यक्ष गुरागाईको दावी छ ।
गत वर्ष आयोजना गरेको रोजगार मेलाको नतिजा के रहयो भन्ने पत्रकारको जिज्ञासाको जवाफ दिदै अध्यक्ष गुरागाईले वाणिज्य संघले पूलको रुपमा समन्वय गरेर ४३ जना ब्यक्तिलाई रोजगार प्रदान गर्न सफल भएको बताए ।
प्राविधिक, प्रशासनिक क्षेत्रको ब्यक्ति, श्रमिक वर्ग, उद्योग ब्यवसाय क्षेत्रका रोजगारदाताको पनि रोजगार मेलामा प्रतिनिधित्व हुने वाणिज्य संघले जारी गरेको विज्ञप्तमा उल्लेख छ ।
एकातर्फ अध्ययन पछि दक्ष जनशक्ति पलायन हुने र अर्कोतर्फ उद्योग ब्यवसाय क्षेत्रमा जनशक्तिको अभाव भोग्नु परिरहेको अवस्थामा रोजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति उपलब्ध गराउन वृत्ति परामर्श तथा रोजगार मेलाले मद्धत गर्ने आयोजकको विश्वास रहेको गुरागाईको भनाई छ ।
Comments