सेवा निवृत्त राष्ट्रसेवकहरु सामाजिक आर्थिक क्षेत्रमा राम्रो योगदानः अध्ययन
Published:
by .झापा । बिर्तामोडमा नवस्थापित सेवा निवृत्त राष्ट्रसेवक मञ्चले नगरको सामाजिक आर्थिक क्षेत्रमा राष्ट्रसेवकको भूमिका विषयक विचारगोष्ठी सञ्चालन गरिएको छ ।
मञ्चका अध्यक्ष शिरो सान्दाई खतिवडाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा उक्त विचार गोष्ठी सञ्चालन गरिएको हो । विचार गोष्ठीमा डा. राजेन्द्र अधिकारी र मोहनप्रसाद ओलीले १० पृष्ठ लामो कार्यपत्र प्रस्तुत गरेका छन् ।
विचार गोष्ठीको औचित्यमाथि प्रकाश पार्दै मेची बहुमुखी क्याम्पस भद्रपुरका पूर्वप्रमुख उमानाथ ओलीले निवृत्त राष्ट्रसेवकलाई नगरपालिकाले निधिका रुपमा स्वीकार गर्नसकेमा समृद्ध नगर निर्माणमा सहयोग गर्न आफूहरु तयार रहेको बताए ।
जीवनको उर्जाशील समय राष्ट्र सेवामा खर्चिएका निवृत्त सेवकहरुसँग विभिन्न खाले ज्ञानको भण्डार हुने भएकाले आर्थिक एवम् सामाजिक क्षेत्रमा यिनको योगदान प्रसस्त हुने भएकाले कार्यक्रम आयोजना गरिएको ओलीको भनाई छ ।
उनका अनुसार बिर्तामोड नगरपालिका क्षेत्रमा मात्र ५०० भन्दा बढी निवृत्त राष्ट्रसेवकहरुको बसोबास रहेको छ ।
विचार गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै डा. अधिकारीले तोकिएको विषयवस्तुमा आधारित रहेर ६० जनालाई विभिन्न प्रश्नहरु प्रस्तुत गरी उनीहरुबाट प्राप्त उत्तरलाई विश्लेषण गरिएको बताए । अनुसन्धानको वेज्ञानिक पद्धति अवलम्बन गरी छोटो समयमा उक्त कार्यपत्र तयार गरिएको डा. अधिकारीको भनाई छ ।
कार्यपत्रका अर्का प्रस्तोता मोहनप्रसाद ओलीले अनुसन्धानको सार प्रस्तुत गर्दै उत्तरदाताहरुमध्ये ७८ दशमलव ३३ प्रतिशत राष्ट्रसेवकहरु सामाजिक क्षेत्रमा क्रियाशील रहेको पाइएको बताए । यस्तै उत्तरदाताहरुमध्ये ४८ दशमलव ३३ प्रतिशत निवृत्त राष्ट्रसेवकहरु कृषि उत्पादनमा लागेको बताइएको छ तर ५१ दशमलव ६६ प्रतिशतले भने कुनैपनि आय आर्जनका काम नगरेको तथ्याङ्कमा देखाइएको छ ।
कार्यपत्र तयारीका लागि गरिएको अनुसन्धानमा सामाजिक पक्षसँग सम्बन्धित २२ वटा र आर्थिक पक्षसँग सम्बन्धित २९ वटा प्रश्नहरु तयार गरी ६० जनालाई सोधिएको थियो । सेना, प्रहरी, निजामति, शिक्षक, प्राध्यापक र वित्तीय क्षेत्र गरी ६ वटा सेवा समूहबाट ५ देखि १५ जनासम्मबाट उत्तरहरु संकलन गरिएको प्रस्तोता ओलीले जनाए ।
‘सानो संख्यामा छोटो अवधिमा गरिएको अनुसन्धानबाट प्राप्त तथ्याङ्कलाई आधार मानी तयार गरिएको कार्यपत्रबाट बिर्तामोड नगरक्षेत्रभित्र बसोबास गर्ने सेवा निवृत्त राष्ट्रसेवकहरु सामाजिक आर्थिक क्षेत्रमा राम्रो योगदान गरिरहेको देखिन्छ’ प्रस्तोता ओलीले भनेका छन् ।
उक्त कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथि प्रा. डा. विष्णुप्रसाद पाठकले टिप्पणी गरेका थिए भने कार्यक्रमको सञ्चालन युवराज पाण्डेले गरेका थिए ।
Comments