१३औं पुण्यतिथीमा चक्र बाँस्तोलाको सम्झाना
Published:
by .बिर्तामोड । नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा सफल कुटनीतिज्ञको छबी बनाएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको १३औं पुण्यतिथीमा आज श्रद्धाञ्जली सभा गरिएको छ ।
नेपाली कांग्रेस झापाको आयोजनामा पार्टी कार्यालय बिर्तामोडमा शोकसभाको आयोजना गरी चक्रप्रसाद बाँस्तोलाको राजनीतिक तथा कुटनीतिक योगदानको चर्चा गरिएको हो ।
चक्रप्रसाद बाँस्तोलाका राजनीतिक सहयात्री तथा पूर्व सांसद डिल्लीप्रसाद सिटौलाले बाँस्तोला अद्भूत निर्णायक क्षमता भएका अनुशासित कांग्रेस कार्यकर्ता भएको टिप्पणी गरेका थिए ।
‘कांग्रेसभित्र अहिले अनुशासन भत्किएको छ, हामी सबै महत्वाकांक्षी भएका छौं, पूर्वसांसद सिटौलाले भनेका छन् ‘चक्र बाँस्तोलाजीबाट हामीले अनुशासनको पाठ सिक्नुपर्छ ।’
कांग्रेस कार्यकर्ताले महत्वाकांक्षा छाडेर संस्थागत निर्णयलाई मान्दै पार्टीलाई एकढिक्का बनाउन पनि कांग्रेस कार्यकर्तालाई सिटौलाले आग्रह गरे ।
नेपाली कांग्रेसका पूर्व उपसभापति देउमान थेवेले चक्र बाँस्तोला कसैलाई ढाँट्न नजान्ने स्पष्टवादी र इमान्दार छवी भएको नेता भएको टिप्पणी गर्दै उनले झापाको तत्कालीन क्षेत्र नं ४ मा विद्युत, सडक बिस्तार गर्दै विकासको जग बसालेको चर्चा गरे ।
शोकसभामा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि टेकबहादुर खजुम, जिल्ला सदस्य दयानन्द गोश्वामी, क्षेत्रीय सभापति जयनारायण शाह, नेपाल महिला संघ केन्द्रीय सदस्य गोमा भट्टराई, जिल्ला अध्यक्ष सुशिला ढकाल, नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेली, ट्रेड युनियन कांग्रेसका अध्यक्ष यज्ञप्रताप अधिकारी, मेचीनगर अध्यक्ष इन्द्रबहादुर बुढाथोकी, बाह«दशी गाउँपालिकाका अध्यक्ष ओमप्रकाश गौतमलगायतले शोक मन्तब्य राख्दै चक्रप्रसाद बाँस्तोलाको राजनीतिक ब्यक्तित्वका बारे चर्चा गरे ।
नेपाली कांग्रेस झापाका कार्यवाहक सभापति राम कट्टेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ताराविर कटुवालले गरेका थिए ।
विक्रम संवत् २००१ सालमा इलाममा जन्मिएका बाँस्तोला भारतको बनारसमा रहेर अध्ययन गर्ने क्रममा जननेता वीपी कोइरालाको सान्निध्यमा रहेर २०१७ सालदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय बनेको इतिहास छ ।
झापाको तत्कालीन क्षेत्र नं ४ बाट दुईपटक प्रतिनिधिसभामा विजयी बन्न सफल उनी पटक–पटक मन्त्रीसमेत बनेका थिए । वौद्धिक कुटनीतिज्ञको समेत छवी बनाएका बाँस्तोला भारतका लागि नेपाली राजदूत बनेर सफलतापूर्वक जिम्मेवारी सम्हाल्ने ब्यक्तित्व पनि हुन् ।
Comments