Sajhamanch Archive

मेचीनगरका गौरवका योजना निर्माणमा विश्व बैंकको चासो

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by .

मेचीनगर । मेचीनगर नगरपालिकाको गौरवका योजनाहरुमा शहरी विकास मन्त्रालय, युजीसीडीपी तथा शहरी विकास भवन निर्माण विभागले लगानीका लागि इच्छा व्यक्त गरेको छ ।

दोस्रो नगरसभाले गौरवका योजना तथा कार्यक्रम अन्तर्गत ठूला आयोजना तथा कार्यक्रम भनी प्रस्तावित आयोजनाहरु र त्यस्तै प्रकृतिका दिगो विकास र दीर्घकालीन महत्वका योजनाहरु यस अन्तरगत राखेको छ ।

संघीय सरकार तथा प्रदेश सरकारद्वारा नगरपालिका भित्र सञ्चालन गरिने योजनाका विवरणसमेत नगरपालिकाको वार्षिक बजेट, नीति तथा कार्यक्रममा समावेश गरिने जनाइएको छ ।

दोस्रो नगरसभाद्वारा पारित गौरवका योजनाहरुमा लगानी गर्नका निम्ति शहरी विकास कोषका पदाधिकारी र नगरपालिकाबीच बिहीबार प्रारम्भिक छलफल भएको छ ।

उपप्रमुख मिना पोखरेल उप्रेतीको कार्यकक्षमा दुई पक्षबीच भएको छलफलमा नगरपालिका भित्र के कस्ता योजना छन् ? ती आयोजना कार्यान्वयनमा नगरपालिकाको भूमिका के रहन्छ ? तथा कार्यक्रमको अवधारणा र कति ऋण सहयोग गर्ने वा कति अनुदान रकम दिने भन्ने विषयमा मन्त्रालयको प्रतिनिधी मण्डलले प्रष्ट पारेको थियो ।

नगरपालिकाले नगरभित्रका आयोजनाका बारेमा प्रतिनिधिमण्डललाई जाकारी गराएको थियो । ड्रेन, सडक, खेल मैदानसहित गौरवका योजनामा विषयमा छलफल भएको उपप्रमुख उप्रेतीले जानकारी दिइन् ।

पहिलो चरण अन्तर्गत देशका ५ वटा नगरपालिकामा यस्ता आयोजना सम्पन्न भएको र दोस्रो चरण अन्तर्गतको यो कार्यक्रममा मेचीनगर नगरपालिकासहित देशभरका १६ वटा नगरपालिका छनौट भएको बताइएको छ । मन्त्रालयले विश्व बैंकको सहयोगमा योजना सम्पन्न गर्न सहयोग गर्ने बताइएको छ ।

सो छलफलमा नगरपालिकाका उपप्रमुख उप्रेतीको नेतृत्वमा सामाजिक विकास समिति संयोजक नविन वराल, पूर्वाधार विकास समिति संयोजक कृष्ण कनाल, वातावरण तथा विपद व्यवस्थापन समिति टिकाराम मंग्रान्ती, प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग, सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्ती, इञ्जिनियर कमल कोइराला खाद्य विश्लेषक दीपेन्द्र कार्कीलगायतको सहभागिता थियो ।

कोषका तर्फबाट पदम मैनाली, किशोर श्रेष्ठ, रोशन श्रेष्ठ र अजयचन्द्रलाल कर्णले सहभागिता जनाएका नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *