Sajhamanch Archive

भद्रपुरमा छठ पूजा भब्य बनाउन समावेशी समिति गठन

Published: in राष्ट्रिय समाचार, समाज by .

भद्रपुर । झापाको सदरमुकाम भद्रपुुर नगरपालिकाको मेची नदीमा गरिने सार्वजनिक छठ पूजा समारोहलाई भव्य बनाउन नगरबासी जुटेका छन् ।

यसवर्ष पनि छठ पूजा समारोह दर्शनीय र मनमोहक तुल्याउन मैथिल समाज झापा भद्रपुरको अगुवाइमा तयारी शुरु गरिएको समाजका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए ।

यसै विषयमा भद्रपुर नगरपालिकाको सभाहलमा जनप्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी, स्थानीय संघ–संस्था, क्लब, शैक्षिक प्रतिष्ठान, सुरक्षा निकायसँग छलफल गरी समारोहलाई व्यवस्थित तुल्याउन उपसमितिहरु गठन गरिएको छ ।

मैथिल समदायको प्रमुख पर्व मानिएको छठ पर्वमा पछिल्लो समयमा सबैखाले धर्म–समुदायको आस्था र सहभागिता बढ्दै गएको तथा भद्रपुरका लागि छठ पर्व समारोह विशेष महत्वको बन्दै गएको परिप्रेक्ष्यमा नगरबाहिरबाट आउने श्रद्धालुहरुसमेतलाई ध्यानमा राखेर समारोहको तयारी गरिएको समाजका अध्यक्ष झा बताउँछन् ।

भद्रपुरको मेची नदीमा आयोजना गरिने छठ पूजा समारोह पूर्व क्षेत्रकै सबैभन्दा ठूलो समारोह मानिन्छ ।

त्यसो त झापाकै विरिङ, देउनिया, निन्दा, कनकाई, रतुवालगायतका नदी किनारमा पनि छठ पूजा गरिँदै आएको छ ।

भारतसँगको सीमा नदी भएकोले मेची नदीमा दुबै देशका श्रद्धालुको घुइँचो लाग्ने गरेको मैथिल समाजका सचिव सुशील कर्णले जनाए ।

समदूरीमा भारततर्फ पनि पूजा गरिने हुँदा मेची नदीको छैठपूजा अझ भव्य देखिने गरेको स्थानीय हजरत अलि बताउँछन् । उनले भद्रपुरमा जातीय सद्भाव र समन्वय उच्चस्तरको रहेको बताउँदै उनले छठ पूजा समारोह भद्रपुरको गौरव भएको बताए ।

नगर उपप्रमुख चन्द्रा श्रेष्ठको विशेष उपस्थितिमा आयोजित छलफलमा सहभागीहरुले छठ पूजा समारोहलाई व्यवस्थित, मर्यादित र उच्चकोटीको बनाउन आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

छलफलबाट समाजका अध्यक्ष रमेशचन्द्र झाको संयोजकत्वमा ५१ सदस्यीय समावेशी प्रतिनिधिमूलक मूल आयोजक समिति गठन गरिएको छ ।

छठ पूजा समारोह यही कात्तिक २७ गते साँझ र २८ गते बिहानका लागि आयोजना गरिनेछ । यसका लागि ५ लाख ७५ हजार रुपैयाँ खर्च अनुमान गरिएको अध्यक्ष झाले जानकारी दिए ।

मेची खोलाकिनारको उत्तर–दक्षिण झण्डै २ किलोमिटरसम्म पण्डाल तथा पूजास्थल रहने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *