Sajhamanch Archive

बिर्तामोड खानेपानी उपभोक्ता संस्थाको साधारणसभा सम्पन्न

Published: in राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकोे १७औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका केन्द्रीय अध्यक्ष टोरुप प्रसाईको प्रमुख अथित्यमा साधारणसभा उद्घाटन गरिएको हो ।

साधारणसभामा संस्थाका अध्यक्ष जलकुमार गुरुङले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको नीति तथा कार्यक्रमसहित बस्तुस्थिति जानकारी गराए । उनकाअनुसार हाल संस्थाका तीनवटा ओभरहेड टेंकी, आठवटा डीप बोरिङ, पाँचवटा फिल्टर प्लाण्ट तथा ६ हजार उपभोक्ता छन् ।

संस्थामा एक करोड ८५ लाख ३८ हजार २३३ रुपयाँ ऋण रहेको तथा भवन निर्माणका लागि चालू आर्थिक वर्षमा पुनः ८६ लाख ४९ हजार २९० रुपैयाँ ऋण लिनुपर्ने अध्यक्ष गुरुङले साधारणसभाका प्रतिनिधिलाई जानकारी गराए । उनले संस्थाको पहुँच क्षेत्रमा ओभरहेड टेंकी, बोरिङ, फिल्टर प्लाण्ट जडान गरिने तथा सबै सेवाग्राहीलाई शुद्ध, स्वच्छ पिउने पानी सर्वसुलभ रुपमा उपलब्ध गराउने आफूहरुको लक्ष रहेको धारणा राखे ।

साधारणसभामा संस्थाका कोषाध्यक्ष राधा सुब्बाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । यस्तै लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै लेखा समिति संयोजक दिलिप शर्माले गत आर्थिक वर्षमा ३० लाख ४३ हजार ६४४ रुपैयाँ आम्दानी भएकोमा खर्च कटाएर १० लाख ४१ हजार ४४६ रुपयाँ बचत गरेको जानकारी गराए ।

संस्थाको १७औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख प्रशासकीय अधिकृत पशुपति खतिवडालगायतले आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *