Sajhamanch Archive

मेची भन्सारको राजश्व असुलीमा गिरावट, पहिलो चौमासिकमा लक्ष्य भेटेन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

मेचीनगर । राजस्व संकलनमा पूर्वकै महत्वपूर्ण मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्ष २०७५/०७६को मंसीर दोस्रो सातासम्म असुलीको तुलनामा प्रगति गर्न सकेको छैन ।

पछिल्लो समय राजस्व असुली घट्नुको मुख्य कारण राजश्वको मुख्य हिस्सा ओगटेको पेट्रोलियम पदार्थ र कोइला आयातमा कमी आएको भन्सार अधिकारीहरु बताउँछन् । कूल राजश्वको ४० प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ । त्यसपछि कोइलाले राजस्व धानेकोमा बर्खासँगै मुख्य वस्तुको आयातमा ओरालो लागेपछि कार्यालयले लक्ष्य पूरा गर्न नसकेको भन्सार अधिकारीको भनाई छ ।

बंगलादेशबाट आयातित पेयपदार्थ, खाद्य वस्तुलगायतले कूल राजश्वको ४० प्रतिशत र बाँकी २० प्रतिशत अन्यले ओगटेको मेची भन्सार कार्यालयका प्रमुख, भन्सार अधिकृत टेकबहादुर अर्याल बताउँछन् । उनका अनुसार यो अवधिसम्म चार अर्ब ८७ करोड ३९ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको भए पनि तीन अर्ब ८० करोड ५९ लाख रुपैयाँमात्र राजश्व संकलन भएको छ । जुन रकम लक्ष्यको तुलनामा ७८ प्रतिशतमात्र हो ।

पूर्वीनाकाबाट हुने व्यापार र बर्खाका कारण कोइला र पेट्रोलियम पदार्थको आयातमा कमि आउनु नै मेची भन्सार कार्यालय काँकरभिट्टाको राजश्व असुलीमा प्रभाव परेको भन्सार अधिकारीहरुको भनाई छ । भन्सार अधिकारीहरुका अनुसार साउन महिनामा ८९ करोड ७८ लाख २७ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको भए पनि कार्यालयले लक्ष्यको तुलनामा ८५ प्रतिशत वा ७५ करोड ९५ लाख ८८ हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको थियो । उक्त रकम गतवर्षको सोही अवधिको तुलनामा १९ करोड ८९ लाख १० हजार ६८ रुपैयाँ वा ३५ प्रतिशतले बृद्धि हो ।

यसैगरी, भदौ महिनामा लक्ष्यको तुलनामा ९२ प्रतिशत वा ९४ करोड ७२ लाख ९९ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । अघिल्लो वर्षको भदौको तुलनामा २३ करोड २० लाख ६१ हजार १३९ रुपैयाँ वा ३२ प्रतिशत रकम बृद्धि गरेपनि चालु आर्थिक वर्षको भदौ महिनाको लक्ष्य भने पुर्याउन नसकेको जनाइएको छ । भदौ महिना भन्सार विभागले कार्यालयलाई १ अर्ब २६ करोड ८८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको थियो ।

असोज महिनामा भने मेची भन्सारले लक्ष्यको तुलनामा ५ प्रतिशत बढी राजश्व संकलन गरेको थियो । ८९ करोड ७८ लाख २७ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा ९४ करोड ५४ लाख ६८ हजार ७ रुपैया वा १०५ प्रतिशत राजश्व संकलन गरेको तथ्याङ्क छ । यस्तै कात्तिक महिनामा १ अर्ब २ करोड ६० लाख ८८ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको कार्यालयले ७४ प्रतिशतभन्दा बढी असुल गर्न सकेन । सो महिना ७५ करोड ८१ लाख ५४ हजार ८७५ रुपैयाँ संकलन गरेको जनाइएको छ ।

मंसीर दोस्रो सातासम्म कार्यालयले ३९ करोड ५३ लाख ९७ हजार ३७७ रुपैयाँ वा ३९ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । मंसीरको लक्ष्य १ अर्ब २ करोड ६० लाख ८८ हजार रुपैयाँ छ । भन्सार विभागले मेची भन्सारलाई चालु आर्थिक वर्ष २०७५/०७६ को वार्षिक कूल लक्ष्य १२ अर्ब ८२ लाख ६१ लाख ५ हजार रुपैयाँ दिएको प्रमुख भन्सार अधिकृत अर्यालले जानकारी दिए ।

काँकरभिट्टा नाकाहुँदै खाना पकाउने एलपी ग्यास, मट्टितेल, तयारी पोशाक, सुपारी, सिमेन्ट बनाउने क्लिङकर, हवाई स्प्रीड, सुती कपडा, खरानी स्ल्याग, चामल तथा कनिका, रंगीन टेलिभिजन, ग्लेज टायल, लुब्रिकेटिङ्ग आयल मोबिल, मोटरका व्याट्री, प्लाष्टिकका प्याक गर्ने ट्युवहरुलगायतका बिभिन्न सामाग्री भारत तथा तेश्रो मुलुकबाट पैठारी भई आउने गरेका छन् ।

मुसुरो दाल, भेनियर सिट, चोकर भुस, आलस, चिया, खयर कत्था, जडीबुडी फलामे संरचनाहरु, अदुवा, सुठो, सुंगुर, बेताड, प्लाइउड, क्राफ्ट पेपर, लगायतका बस्तुहरु नेपालबाट भारत तथा समुन्द्रपार निकासी हुने गरेको भन्सार कार्यालयसँग तथ्याङ्क छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *