Sajhamanch Archive

‘नारायणगोपाल स्मृति साँझ’ : सैनिकमोडमा गुञ्जिए कुवेर राई

Published: in टिप्स/जानकारी, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

झापा । साँझ पर्दै थियो । बिर्तामोड नगरपालिका–३ सैनिकमोडस्थित विराटज्योति अंग्रेजी माविको मैदानमा बिस्तारै न्यानो लुगामा ठाँटिएर आउनेको भीड बढ्न थाल्यो । भीडमा युवा पुस्ताभन्दा पाका उमेरका अनुहार कार्यक्रमस्थलमा प्रवेश गर्न आतुर देखिन्थे । अघिपछि विद्यालय परिसरमा विद्यालय र विभिन्न संघ संस्थाले गर्ने कार्यक्रमभन्दा बुधबारको कार्यक्रम फरक थियो । अन्य कार्यक्रमले कोलाहल बन्ने उक्त परिसर यो साँझ भने शान्त थियो ।

नारायणगोपाल स्मृति प्रतिष्ठानले स्वर सम्राटको २८औँ स्मृतिमा आयोजना गरेको ‘नारायणगोपाल स्मृति साँझ’ ले कार्यक्रमस्थल बेलैमा खचाखच थियो । विगत लामो समयदेखि प्रतिष्ठानले हरेक वर्ष मंसीर १९ गते ‘नारायणगोपाल स्मृति साँझ’ गर्दै आएको छ । अनि नारायणगोपालका गीत प्रस्तुत गर्न आइपुगेका थिए नेपाली सांगीतिक क्षेत्रका चर्चित र मुर्धन्य गायक कुवेर राई । राष्ट्रिय र स्थानीय कलाकारको बाक्लो उपस्थितिमा स्वर सम्राट स्वर्गीय नारायणगोपालकै गीत गाएर हरेक वर्ष प्रतिष्ठानले सम्झिने गर्दछ स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यलाई ।

साँझ छिप्पिएसँगै क्रमशः मंसीरको चीसोको मौसम बढ्दै गएपनि खचाखच भएको पण्डालमा सहभागी प्राज्ञ, कवि, कलाकार, सायर, सांसद, स्थानीय सरकारका प्रमुख प्रतिनिधिदेखि प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुख र संगीतप्रेमी दर्शकलाई भने स्वर सम्राट नारायणगोपालका गीतले न्यानो बनाउँदै लगेको अनुमान गर्न सकिन्थयो ।

रचनाकार तथा संगीतकार दीपक जंगम प्रमुख अतिथि बनेको कार्यक्रममा स्वर सम्राट नारायणगोपालका गीत सुन्न झापा र आसपासका विभिन्न ठाउँबाट संगीतप्रेमी ओइरिएका थिए ।  प्रतिष्ठानले हरेक वर्ष नेपाली सांङ्गीतिक आकाशका अद्भुत प्रतिभा स्वर्गीय स्वर सम्राट नारायणगोपालप्रति सम्मान व्यक्त गर्दै नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको अतुलनीय कार्यको उच्च मूल्याङ्कन गर्दै उनलाई युगयुगसम्म चिनाइरहन ‘नारायणगोपाल स्मृति साँझ’ आयोजना गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटी बताउँछन् ।

औपचारिक कार्यक्रम प्रतिष्ठानका सचिव रुद्र सिटौलाले सञ्चालन गरेका थिए भने सांगीतिक कार्यक्रमको सञ्चालनको जिम्मेवारी अध्यक्ष शिवाकोटीले विगत वर्षहरुमा झैं आफैंले सम्हाले । उद्घोषकको भूमिकामा उभिएका प्रतिष्ठानका अध्यक्ष शिवाकोटीले गायक अनिल फागोलाई स्रोताको भरिभराउ विराटज्योति अंग्रेजी माविको मैदानमा निर्माण गरिएको मञ्चमा डाके ।

कार्यक्रमको शुरुवाती चरणमा मञ्च पाएका गायक फागोले लक्ष्मण लोहनीको रचना तथा चन्द्रराज शर्माको संगीत र स्वर सम्राट स्वर्गीय नारायणगोपालको स्वरमा रहेको राष्ट्रभक्तिले ओतप्रोत ‘म मरे पनि मलाई मेरो देशको माया छ, यो छातीभरि मुरीका मुरी नेपालको माया छ’ बोलको गीत गाएर सबैलाई मन्त्रमुग्ध पारे । स्वर सम्राट नारायणगोपालकै शैलीमा पलेँटी मारेर हारमोनियम बजाउँदै उनकै हाउभाउमा फागोले आधा दर्जनजति गीत गाएर दर्शकलाई सुनाए ।

दोस्रो प्रस्तुति स्थानीय कलाकार करण मुखिया मञ्चमा देखा परे । बिर्तामोड –३ सैनिकमोडका रैथाने उनले कालीप्रसाद रिजालको रचना तथा स्वर्गीय नारायणगोपालको स्वर तथा संगीत रहेको ‘केही मिठो बात गर’ ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ र ‘म त लाली गुराँस भएँछु’ बोलका तीनवटा गीत पस्किए ।

सांगीतिक कार्यक्रममा उद्घोषण गरिरहेका प्रतिष्ठानका अध्यक्ष शिवाकोटीको कार्यक्रम सञ्चालन कलाले सहभागीको आङ्ग नै जिरिङ्ग–जिरिङ्ग बनाउँथ्यो । उद्घोषणकै शिलशिलामा शिवााकेटीले आफ्नी पत्नी प्राध्यापक डाक्टर बेनी जंगमसँगै झापा आएका दीपक जंगमको तारीफ गर्न पनि लामै समय खर्चिए । कार्यक्रमका प्रमुख अतिथि बनाइएका जंगमको परिचय गराएपछि इलामबाट आएका बालकलाकार आयुष घिमिरेलाई गीत पस्किने अवसर पाए ।

कक्षा ७ मा अध्ययनरत १३ वर्षीय घिमिरेले स्वर्गीय हरिभक्त कटुवालको रचना तथा अम्बर गुरुङको संगीत रहेको ‘मेरो आँखालाई राख्ने फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि !’ बोलको गीत गाएर सहभागीको मन राम्रैसँग जिते । यस्तै स्थानीय बालकलाकार १३ वर्षीय प्रतिक ढकालले ‘चिनारी हाम्रो धेरै पुरानो’ बोलको गीत गाए । प्रतिकको प्रस्तुतिले बिर्तामोडबासीको मन धेरैपटक जितिसकेको छ ।

नारायणगोपालका गीत सुन्न टाढाटाढादेखि जम्मा भएका दर्शक विभिन्न कलाकारले उनै स्वर सम्राटका गीत प्रस्तुत गरिरहँदा स्तब्ध बनेका थिए । शान्त बनेको वातावरणलाई सांगीतिक माहोल प्रदान गर्न कार्यक्रमका नायकका रुपमा रहेका गायक कुवेर राई साढे ७ बजे मञ्च उक्ले ।

‘कसरी म भुलेँ’ बोलको गीतबाट गाउन शुरु गरेका गायक राईले ‘यति चोखो यति मिठो’ बोलका नारायणगोपालका गीत मात्र गाएनन् । उनको आफ्नै गीत ‘मायाले मूल बाटो भुलेछ’ लगायतका आधा दर्जन गीत गाए । राई शुरुमै नारायणगोपालको गीत गाएर दर्शकको मन जिते । उनले गाउँदा दर्शकले ताली बजाएर गीत मन परेको संकेत गरेका थिए ।

उनको गीत गाउँने शैली हाउभाउ स्वर्गीय नारायणगोपालसँग ठ्याक्कै मिल्दोजुल्दो थियो । कलाकारहरुले गीत प्रस्तुत गरिरहँदा के बालबालिका के बृद्धबृद्धा कम्मर मर्काउँदै मञ्चमै पुगे । राईले घण्टौंसम्म गीत पस्किएर सबैलाई मन्त्रमुग्ध पार्दै सांगीतिक मज्जा दिलाए ।

स्थानीय र राष्ट्रिय कलाकारहरुलाई साथ दिनका लागि वाद्यवादनतर्फको व्यवस्थापन बाँसुरी बाधक मित्र मगरले गरेका थिए । ‘कुवेर राईको गीत गाउँने शैली हाउभाउ साँच्चै स्वर्गीय नारायणगोपालसँग ठ्याक्कै मिल्दोजुल्दो रहेछ’ मेचीनगरको काँकरभिट्टाबाट पुगेका स्वास्थ्यकर्मी दीलिप सुवेदीले भने ‘उनका गीत सुन्दा र हाउभाउ हेर्दा मलाई त नारायणगोपाललाई भेटे झैं लाग्यो ।’

कार्यक्रममा प्रमुख अतिथि जंगमले स्वर सम्राट नारायणगोपालले नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै उनको व्यक्तित्वका बारेमा वर्णन गर्न लामै समय खर्चिए । कार्यक्रममा संगीतकार शिवशंकर थापा, कुवेर राई र कालीप्रसाद रिजाललाई प्रतिष्ठानको मानार्थ सदस्य प्रदान गरियो । प्रमुख अतिथि दीपक जंगमले खादासहित नेपाली ढाकाको टोपी पहिर्याएर मानार्थ सदस्यको प्रमाणपत्र प्रदान गरे ।

सोही कार्यक्रममा बिर्तामोड ३ सैनिकमोड निवासी पर्वकुमारी मैनालीले मृगौला पीडित निर्मला खत्री भण्डारीलाई नगद १० हजार रुपैयाँ आर्थिक सहयोग गरिन् भने सुरेशकुमार अग्रवाल भद्रपुरेले अर्का मृगौला पीडित रामबहादुर नेपालीलाई १० हजार १०० रुपैयाँ प्रदान गरे ।

विसं २०४७ सालमा दिवंगत नारायणगोपालको स्मृतिमा प्रतिष्ठान स्थापना भएदेखि हरेक वर्षको मंसीर १९ गते ‘नारायणगोपाल स्मृति साँझ’ गरिँदै आएको अध्यक्ष शिवाकोटीको भनाई छ । उनका अनुसार झापामै नारायणगोपाल स्मृति प्रतिष्ठान निर्माण गर्न जुटेको र २० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने लक्ष्य छ । हालसम्म १५ लाख ७५ हजार रुपैयाँ संकलन भएको छ । बुधबार सम्पन्न कार्यक्रम अवधिमा मात्र ५५ हजार रुपैयाँ अक्षयकोषका लागि घोषणा भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *