एनएमसीमा ५७ हजार सदस्य : ५७ करोड शेयर पूँजी
Published: (Updated: )
by .मेचीनगर । झापाको मेचीनगरमा मुख्य कार्यालय रहेर जिल्लाभर कार्यक्षेत्र रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले सदस्य संख्या अधिकतम् भएका सहकारीहरुका लागि प्रतिनिधिमुलक साधारणसभा गर्ने पद्धति बसाएर बाजी मारेको जनाएको छ । सो संस्थाले २०६३ सालबाटै प्रतिनिधिमूलक साधारणसभा गर्न थालेपछि २०६८ सालमा बनाइएको मापदण्डमा सोही व्यवस्था गरिएको र २०७४ सालमा बनाइएको सहकारी ऐनमा लिपिबद्ध गरिएबाट आफूहरुको अभियान सफल भएको जनाएको हो ।
संस्थाको २६औं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा शुक्रबार गरिएको पत्रकार सम्मलेनमा एनएमसी वित्तीय व्यवसायमा मात्र सिमित नरही बहुव्यवसायमा अग्रसर भइसकेको अध्यक्ष रामचन्द्र उप्रेतीले जानकारी दिए । संस्था २५ वर्ष पुगेको अवसरमा रजत महोत्सवसँगै २५ वटा नयाँ एवम् रचनात्मक कामको थालनी गरेको पनि अध्यक्ष उप्रेतीले बताए । ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ भन्ने मूल नाराका साथ एनएमसीले रजत महोत्सव मनाइरहेको छ ।
सहकारीले आफ्ना सेयर सदस्य थप गर्दै कारोबारमासमेत उल्लेख्य प्रगति गरेको अध्यक्ष उप्रेतीले बताए । २०७४/०७५ को असार मसान्तमा ११ हजार ९६ जना नयाँ सदस्यता थप गर्दै ५३ हजार १९१ जना सेयर सदस्य पुगेका छन् । सहकारीको सेयर पूँजी ५२ करोड २ लाख ४८ हजार ९०० पुगेको छ । सो अंक २०७५ को कात्तिक मसान्तमा बढेर सेयर सदस्य संख्या ५७ हजार र शेयर रकम ५७ करोड हाराहारी पुर्याइएको अध्यक्ष उप्रेतीले जनाए । सहकारीको निक्षेप ४ अर्ब, ५७ करोड, ८७ हजार ११३ रुपैयाँ रहेको छ । स्थिर सम्पति १५ करोड, ५३ लाख, ९७ हजार ८१३ रुपैयाँ रहेको छ ।
सहकारीले एनएमसी डेरी उद्योग सञ्चालन गरेर ३ हजार बढी किसानलाई सहज रुपमा सेवा दिएको जनाइएको छ। एनएमसीले केही वर्षदेखि डेरी उद्योग सञ्चालनमा ल्याएको छ । १४ करोड १२ लाख ८४ हजार ३८१ रुपैयाँ लगानीमा डेरी सञ्चालनमा ल्याएको हो । संस्थाले पिउने पानीको उत्पादन र मिठाईको सेमीअटो पालन्ट जडान गर्ने कार्य तय गरेर १ करोड बजेट स्वीकृतिका लागि साधारणसभामा प्रस्ताव गरेको अध्यक्ष उप्रेतीले बताए ।
एनएमसीले धुलो दूध कारखानाको अवधारण पनि अघि सारेको छ । किसानले उत्पादन गरेको दूधले बजार सधैंभरि पाउन सकोस् र किसानले उत्पादनको जोखिम मोल्न नपरोस् भन्ने उद्देश्यले प्रदेश १ स्तरीय ५० हजार लिटर दूध दैनिक खपत गर्न सक्ने गरी धुलो दूध उत्पादन कारखाना सञ्चालन ल्याउने लक्ष्य रहेको अध्यक्ष उप्रेतीले बताए । सो प्रयोजनका लागि प्रदेश सरकारले १० करोड रुपैयाँ अनुदान प्रदान गर्ने सहमति भएको र जिल्लामा विशिष्टीकृत सहकारी गठन गरी अन्य रकम जुटाइने उद्देश्य रहेको बताइएको छ । संस्थाले २ करोड रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ ।
सहकारीले एनएमसी नमूना कृषि परियोजनालाई प्राथमिकतामा राखेर कृषिको व्यवसायीकीकरणमा जोड दिने भएको छ । यसका लागि मेनपा १४ मा १३ विगाह ७ कठ्ठा १४ धुर जग्गा खरिद गरी पूर्वाधार निर्माणको तयारी गरिएको छ । साधारणसभाको बिहान सो परियोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । साधारणसभाको उद्घाटन गर्न एक नम्बर प्रदेश सरकारका आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्बो आउने तय भएको छ ।
रजत महोत्सवको अवसरमा बिहीबार नै पत्रकार र एनएमसी कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । खेलमा २–१ गोल अन्तरले पत्रकारको टोलीलाई एनएमसीको टोलीले जित्यो ।
Comments