Sajhamanch Archive

प्रधानमन्त्रीलाई इन्जिनियरहरुको ज्ञापन

Published: in राजनीति by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल प्रगतिशिल इन्जिनियर एशोसिएसनका पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले इन्जिनियर पेशालाई मर्यादित बनाएर यसको विश्वसनियता बढाउनु पर्नेमा जोड दिएका उनका प्रेस संयोजक चेतन अधिकारीले जनाएका छन् । सरकार इन्जिनियरको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक तोक्न सकारात्मक रहेको प्रधानमन्त्री ओलीले जिकिर गरेका छन् । “तपाईंहरुको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार सकारात्मक छ” प्रधानमन्त्रीले भनेका छन् ।

राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीको भनाई छ । “समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो सर्त हो” प्रधानमन्त्री ओलीले भनेका छन् “यसमा सरकार प्रतिवद्ध छ । सरकारको यस अभियानमा इन्जिनियरहरुको साथ सहयोग जरुरी छ ।”

वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिवद्ध रहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको दावी पनि गरेका छन् ।

प्रधानमन्त्रीलाई भेट्न एशोसिएसनका अध्यक्ष शम्भूबहादुर श्रेष्ठको नेतृत्वमा आएको टोलीले विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएको छ । प्रधानमन्त्री ओलीले इन्जिनियरका जायज माग पूरा गर्न आफू सकारात्मक भएको पनि विश्वास दिलाएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *