भद्रपुरमा प्रदेशस्तरीय कराते प्रतियोगिता
Published:
by .भद्रपुर । कुनै समय सार्कस्तरीय प्रतियोगितामा नेपालका लागि मेडल प्राप्त मुख्य खेल बनिसकेको तर पछिल्लो समय सुस्ताउँदै गएको कराते खेललाई पुनः जगाउने प्रयास झापामा गरिएको छ । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी झापाको सदरमुकाम भद्रपुरमा प्रदेश १ स्तरीय सितेरियो कराते प्रतियोगिता बिहीबार शुरु भएको हो ।
भद्रपुर नगरपालिका वडा नं २ को संयोजन, नेपाल सितोरियो कराँते टेक्निकल कमिटीको प्राविधिक सहयोग तथा पृथ्वीनगर डोजोको आयोजनामा शुरु प्रतियोगिताको उद्घाटन प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भद्रपुर–२ स्थित होलिल्याण्ड इङलिस स्कूलको खेलमैदानमा गरेका छन् ।
प्रतियोगितालाई ‘मुख्यमन्त्री कप कराते प्रतियोगिता’ भनिएको छ । यसस्तरको प्रतियोगिता प्रदेश १ मा पहिलोपटक आयोजना भएको बताइएको छ । सो प्रतियोगितालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने आयोजकले जनाएको छ ।
प्रतियोगिता आयोजक समितिका सल्लाहकार शिव राजभण्डारीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा मुख्यमन्त्री राईले खेलकुदको क्षेत्रमा प्रदेश १ लाई सर्वोत्कृष्ट बनाउने गरी प्रदेश सरकारले खेलकुद क्षेत्रमा लगानी गर्ने बताए । उनले यो प्रतियोगिता खेलको विकासका लागि मात्र नभई झापालगायत प्रदेश १ का पर्यटकीय क्षेत्रको प्रचार र विस्तारका लागि पनि उपयोगी हुने जिकिर गरे ।
कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको उद्घाटन समारोहमा प्रदेश १ भरिबाट आएका खेलाडी तथा प्रशिक्षकहरुलाई स्वागत गर्दै स्वस्थ, सक्षम युवा जनशक्ति निर्माणका लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने भएकोले नगरभित्र उत्कृष्ट खेलाडी उत्पादन गर्न नगरपालिकाले लगानी गरिरहेको बताइएको छ । कबड्डीका पूर्व राष्ट्रिय खेलाडी श्रेष्ठले यो प्रतियोगितालाई भद्रपुरको गौरवको रुपमा लिँदै यसलाई निरन्तरता दिन नगरपालिकाले हरसंभव प्रयत्न गर्ने बताए ।
प्रतियोगितामा झापासहित प्रदेश १ का १४ जिल्लाबाट महिला तथा पुरुष गरी २०० खेलाडी सहभागी रहेको सल्लाहकार राजभण्डारीले जानकारी दिए । यहाँ छनोट भएका खेलाडीले प्रदेशका तर्फबाट नेपालगञ्जमा सम्पन्न हुन गइरहेको आठौं राष्ट्रिय प्रतियोगितामा भाग लिने बताइएको छ ।
भद्रपुर २ स्थित होलील्याण्ड स्कुल परिसरमा आयोजित प्रतियोगितामा महिलातर्फ ४० देखि ८० केजी तौलसम्म र पुरुषतर्फ ४५ देखि ८० केजीमाथिको तौल इभेन्टका खेल भइरहेको करातेका एसियन रेफ्री बिसन मोतेले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख २१ हजार खर्च हुने बताइएको छ । सो रकम जुटाउन भद्रपुर नगरपालिका, वडा कार्यालयहरु, झापा जिल्ला खेलकुद विकास समिति, विभिन्न संघ–संस्था, उद्योगी–व्यवसायीबाट सहयोग प्राप्त भएको राजभण्डारीले बताए ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरिनेछ । प्रतियोगितालाई मर्यादित ढंगले सम्पन्न गर्न वरिष्ठ कराते प्रशिक्षक मदन उप्रेती, भारत दार्जीलिङ निवासी वरिष्ठ कराते रेफ्री आरपी लामालगायतले प्राविधिक पक्षमा सहयोग पुर्याइरहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको समापन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले गर्ने बताइएको छ । प्रतियोगिता उद्घाटनकै अवसर पारेर केही जनप्रतिनिधि, सामाजिक व्यक्तित्व तथा पूर्व खेलाडीहरुलाई सम्मान पनि गरिएको थियो ।
सम्मानित हुनेहरुमा प्रदेशसभा सदस्य वसन्त बानियाँ, प्रदेशसभा सदस्य झलकसिंह दर्लामी, भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, झापा जिल्ला खेलकुद समितिका अध्यक्ष शंकर थापा, वरिष्ठ प्रशिक्षक मदन उप्रेती, वरिष्ठ प्रशिक्षक तथा रेफ्री आरपी लामा, सौरभ प्रधान, महेन्द्र राई, जगन कार्की, बिसन मोते, श्याम राई, जीवन थापामगर, कालु मेचे, दुर्गाराज निरौलालगायतलाई मुख्यमन्त्री राईले सम्मानपत्र प्रदान गरेका थिए ।
Comments