Sajhamanch Archive

भाँडभैलो मच्चाउने दाताको सहयोग नेपाललाई चाहिँदैनः प्रधामन्त्री ओली

Published: in प्रदेश तह, राजनीति by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समग्र निर्माणका लागि संघीय, प्रदेश र स्थानीय सरकारको सम्बन्ध सुमधुर हुनुपर्ने बताएका छन् । अन्तरप्रदेश समन्वय कार्यदलको प्रतिवदेन बुझ्दै आज सिंहदरबारमा प्रधानमन्त्री ओलीले यस्तो सम्बन्धको कुरा उठाएका हुन् ।

प्रधानमन्त्री ओलीले तीन तहका सरकारले आपसी सम्बन्धलाई रस्साकस्सीको विषय बनाउनु नहुने भन्दै सबैले सार्वभौमसत्ताको सही ढंगले प्रयोग गर्नु पर्ने सुझाएका छन् । अहिले हामीले अवलम्बन गरेको प्रणालीले सबैलाई अवसर दिएको छ, प्रधानमन्त्री ओलीको भनाई छ, “संघीय प्रणाली हाम्रा लागि नयाँ भएकोले त्यसमा अभ्यस्त हुन हामीलाई केही समय लाग्छ, तर हामी उपयुक्त प्रणाली मै छौं ।”

“अहिले एउटा सरकारको अधिकार अर्को सरकारले लिए जस्तो, एउटाले अधिकार आफूसँग राखेर अर्कालाई नदिएजस्तो महसुस गरेको देखिन्छ तर एउटा सरकारको अभ्यासबाट ७६१ वटा सरकारको अभ्यास गर्दा यस्तो हुनु स्वाभाविक हो’ प्रधानमन्त्रीको भनाई छ ।

प्रधानमन्त्री ओलीले दाताका नाम बजेटमा नदेखिने, लेखा प्रणालीमा नआउने किसिमका अनुदान र सहयोग नलिन पनि सबैलाई निर्देशन गरेका छन् । “नेपाल कसैको अभ्यास गर्ने थलो होइन । दाताको सहयोगमा यहाँ भाँडभैलो मच्चाउने तत्वहरु घुस्न सक्छन् । त्यस्तो सहयोग नेपाललाई चाहिँदैन । कसैले पनि त्यस प्रकारका सहयोग स्वीकार नगर्नुहोस्” प्रधानमन्त्रीले प्रष्ट निर्देशन गरेका छन् ।

गत मंसीर २४ गते अन्तरप्रदेश परिषदको बैठकले संघ र प्रदेशका समस्या समाधान गर्नका लागि गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित समितिले बनाएको प्रतिवदेन ग्रहण गर्ने कार्यक्रममा मन्त्रीहरु, मुख्यमन्त्रीहरुले आ–आफ्ना धारणा राखेका थिए ।

प्रधानमन्त्री ओलीसँग आजै संघीय संसदका सभामुख, उपसभामुख र सातै प्रदेशका सभामुख, उपसभामुखले भेट गरेका छन् ।प्रधानमन्त्रीसँगको भेटमा प्रदेशका उपसभामुखको मर्यादा पुनरावलोकन गर्न माग गरिएको छ । प्रधानमन्त्री ओलीले नयाँ मर्यादा कायम गर्न सरकार सकारात्मक रहेको सहभागीहरुलाई आश्वासन दिएका उनका प्रेस संयोजक चेतना अधिकारीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *