भद्रपुरका उद्योगी ढकाललाई जेसीज राष्ट्रिय पुरस्कार प्रदान
Published: (Updated: )
by .जनकपुर । झापाको भद्रपुरका युवा उद्योगी दिपेश ढकाललाई राष्ट्रियस्तरको पुरस्कार प्रदान गरिएको छ लगनशीलता र मेहनतबाट उद्योग क्षेत्रमा सफल बनेका ढकालको योगदानको कदर गर्दै नेपाल जेसीजले युवा उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरेको हो ।
आइतबार जनकपुरमा आयोजित नेपाल जेसीजको ४५औं राष्टिय महाधिवेशन उद्घाटन समारोहमा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामबरण यादवले नगद पुरस्कारसहित ढकाललाई सम्मानपत्र प्रदान गरे ।
भद्रपुर वडा नं ६ मा २०३२ साल जेठ ४ गते जन्मिएका ढकाल झापामा सफल युवा उद्योगीको रुपमा परिचित छन् । भद्रपुरमा गोरखकाली हार्डवेयर सञ्चालन गरी उद्योग–व्यावसाय क्षेत्रमा होमिएका दिपेश अहिले झण्डै एक दर्जन उद्योगका सञ्चालक छन् ।
उनी गोरखकाली सिमेन्ट उद्योग, दक्षिणकाली प्लाष्टिक इण्डष्ट्रिज, खुश्बु इँटा उद्योग, दक्षिणकाली इँटा उद्योग र सिद्धकाली सप्लायर्सको प्रवन्ध निर्देशक हुन् । सनराइज सिमेन्ट इण्डष्ट्रिज, स्टार टी इण्डष्ट्रिज, तथा त्रिशक्ति ग्यास इण्डष्ट्रिजमा ढकाल निर्देशकको भूमिकामा छन् । उनले मातहत कम्पनी र व्यावसायिक प्रतिष्ठानमा लगभग दुई हजार जनशक्तिलाई रोजगारी दिएको बताइएको छ ।
नेपाल जेसीजले आफूलाई गरेको सम्मानले उद्योग व्यावसाय क्षेत्रको विकासमा लागिरहन थप प्रेरित गरेको पुरस्कार ग्रहण पछि ढकालले बताएका छन् । सम्मानका लागि वीरता जेसीजले उनको नाम सिफारिस गरेको हो ।
Comments