Sajhamanch Archive

राजनीति !!!

Published: in शिक्षा, by .

रुघ्ण अवस्था
समस्याको डङ्गुर
न्यून आय स्रोत
प्रशस्तै आँखीझ्याल भएका
आँङमा झुण्डिएका कपडा
सारङ्गी झैं बनेको पेट
कलेटी परेका ओठहरु
सहस्र मूजाले ढाकेको
वयस्क उमेर
मखिया लागेका दाँतहरु
चिम्रिएका आँखाहरु
काँइयोसँग भेटघाट नभएको
र साबुन पानी नदेखेको कपाल
लामो खडेरी पछिको धर्ती झैं
चिरैचिरा परेका खुट्टाहरु
विकासे वजेटका बाटाहरु झैं
ठेलैठेलाले भरिएका हातहरु
च्यातिएको गुन्द्रीमा टुक्रुक्क
बस्न विवस एउटा मान्छे !?

इस्त्रीले तन्काएको कपडा झैं
तनक्क भएका पोटिलो गाला
भीरमा झाँगिएको वावियो झैं
सलक्क परेको कपाल
प्रफूल्ल अनुहार
केराका कोसा झैं लाग्ने
हात खुट्टाका औंलाहरु
जुत्ताभित्र लुकिरहने
सफेद खुट्टाहरु
दमाहा जस्तै भएर फूलेको पेट
निश्चिन्त अवस्था
आलिसान महलका भूईं भित्ताहरुमा
टल्कने टायलले सजाएका
घरको कौसीमा
घुम्ने मेचमा बसेको अर्को मान्छे ।

विचित्रको छ यो दुनियाँ
दोस्रो मान्छे भाषण गर्दैछ
समानतायुक्त समाजवाद
बाघ र बाख्राको एकताको
विभेद छैन भोका र अघाएकाको
पीडा, दमन, अत्याचार छैन
शोषित र शोषकको
कहिले द्वन्द छैन हामीसित
तारामण्डल देखिने र तारामण्डल घरको
हामी एक थियौं हिजो पनि
आज पनि र भोलि पनि
उसले बोलिसकेको थियो
पहिलो मान्छेले के बुझ्यो
हात नै रातो हुने गरी
जोड–जोडले ताली बजायो
कठैबरा !! पहिलो मान्छे

(कवि पाठक दुर्गा मावि गरामनीका प्रधानाध्यापक हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *